काठमाडौं । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको बताएका छन् । बारले प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णय हुनासाथ तत्काल विरोध सहित विज्ञप्ति निकालेको समेत जनाएको छ । अध्यक्ष डा विजयप्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति निकालेर विघटनको निर्णयको विरोध गर्नुभएको छ ।
बारले यसलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै त्यसले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि प्रहार भएको निष्कर्ष निकालेको उहाँहरुले बताउनु भएको छ । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यस अघिको संसद् पुनः स्थापनासम्बन्धी निर्णय विपरीत समेत छ’, बारले भनेको छ। अवधि नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वास घटाउने र मुलुकको संवैधानिक व्यवस्थाको जगलाई खतरामा पार्ने बारले जनाएको छ।