काठमाडौं । अन्तरिक सरकारका गृहमन्त्री ओमप्रकास अर्यालले नियमित कार्यअवधि पूरा नहुँदै नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा गर्नुभएको छ । भदौ ३१ गते आईजीस्तरीय निर्णय भन्दै असोज महिनाको तलब खाने गरी ४८ एसपीको सरुवा गरिएको छ भने १० जिल्लामा प्रहरी प्रमुख परिवर्तन गरिएको छ । यसअधि विभिन्न जिल्लामा काज गएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम समेत गरिएको बताइएको छ । सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम गरिएको छ ।
बाँके जिल्ला प्रहरी प्रमुखमा अंगुर जिसी सरुवा गरिएको छ । उहाँ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहनु भएको छन् । पर्सामा पाँच महिनामै एसपी गौतम मिश्र त्यहाँबाट सरुवा भएर सुदूरपश्चिम प्रहरी कार्यालय पठाइर्एको छ । त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी सुदीपराज पाठकलाई सरुवा गरिएको छ । अर्को आकर्षक मानिने मकवानपुरका एसपी विश्वराज खड्का १३ महिना बसेर प्रधान कार्यालय सरुवा गरिएको छ भने त्यहाँ सुवासचन्द्र बोहरालाई सरुवा गरिएको छ ।
मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेवे, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पंजियार थारु, कास्कीमा नवीन कार्की, कपिलवस्तुमा सन्तोष आचार्य जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा गरिएको छ । डोटीमा महेन्द्र नेपाल र भक्तपुरमा सूर्यबहादुर खड्का सरुवा भएर कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।