काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गर्न घरधनीले ३ महिने अल्टिमेटम दिएको छ । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन अल्टिमेटम दिएको बताउनु भएको छ । १० महिनादेखि घर भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई सो अल्टिमेटम दिएको बताउनु भएको छ । सो घरका धनी भने अमेरिकामा रहनु भएको छ । देवकोटाले मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा दिएको बताउनु भएको छ ।
रास्वपाको अनुशासन आयोगका प्रमुख समेत रहेका देवकोटा अमेरिका गएपछि उहाको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको छ । स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।

