Prithvi Post

२१ आश्विन २०८२, मंगलवार

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने व्यवस्था लागु गरेको जनाएको छ । अर्थ मन्त्रालयले भन्सार घोषणा बिना ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक रहेको जनाएको छ । यसैगरी, अर्थ मन्त्रालयले अधिकतम अमेरिकी डलर १ हजार ५०० विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने समेत जनाएको छ ।

नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म, भारतीय रूपैंयाको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रूपैंया र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबरसम्म भन्सार घोषणा विना नेपालमा भित्राउन सक्ने व्यवस्था लागु गरेको जनाइएको छ । नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्रा लगायतको अधिकतम अमेरिकी डलर १ हजार ५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

कानुनी व्यवस्था बाहेक स्रोत नखुलेको नगद कहीँ कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारबाही गर्न सबै निकायलाई सक्रिय गराइएको समेत बताइएको छ । प्रचलित कानुन अनुसार आय आर्जन भएको र स्रोत खुलेको रकम सुरक्षित राख्न वा प्रयोग गर्न कुनै अवरोध नभएको तर विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम लुकाई राखेको सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम कारबाही गर्ने गराउने समेत मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0