काठमाडौ । सरकारसंग विना अनुमति निर्माण गरिएको जडीबुटी बसपार्कमा शुल्क विवाद चर्किएपछि पूर्व अरनिको यातायातका अध्यक्ष केदार क्षेत्री र बसपार्क सञ्चालक समितिका संयोजक रवि सिवाकोटीमाथि मजदुर र व्यवसायीहरुले कुटपिट गरेको छन् । आफुखुशी बसपार्कको शुल्क निर्धारण गरि जबरजस्ती असुली गर्दै आएका अध्इक्ष् क्षेत्री र सिवाकोटीमाथी भाडादरको छलफलकै क्रममा दुवै तर्फबाट कुटाकुट भएको बताइएको छ । पूर्व अरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका ३२ जडीबुटीमा निर्माण गरेको बसपार्क निर्माण हुनु अघिदेखि विवादीत बन्दै आएको थियो ।
मजदुरको हकहितकालागि भन्दै संकलन गरेको करोडौ रुपैयाँ सो बसपार्क निर्माणको नाममा अन्धधुन्ध खर्च गरिएको समेत बताइएको छ । अत्याधिक शुल्क असुली गरे पछि यातायात व्यवसायीहरुले विरोध गर्दै आएका थिए । शुल्क लगायत अन्य विषयमा छलफलको क्रममा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीलाई मजदुर र यातायात व्यवसायीहरुले कुटेको बताइएको छ । छलफलमा दवावमुलक रुपमा आफ्नो मात्र निर्णय राख्न खोजेपछि मजदुर र व्यवसायीहरुले अध्यक्ष लगायत अन्यलाई कुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
‘ १४ रोपनी व्यक्तिगत जग्गा भाडामा लिएर निर्माण गरेको सो बसपार्क सञ्चालनमा आए पनि बसपार्क सञ्चालनको इजाजत भने सरकारी निकायबाट प्राप्त भएको छैन ।अरनिको सम्बद्ध यातायात व्यवसायी र मजदुरहरूले भने बसपार्क शुल्कको नाममा आफूहरूमाथि समितिले अत्याचार गरेको आरोप लगाएका छन् । बसपार्कमा गाडी प्रदेश गर्न साथ प्रति गाडी ३ सय ५० रुपियाँ शुल्क लिने गरेको र बसपार्कमा गाडी नजाँदा पनि उक्त गाडीले अनिवार्य रूपमा बसपार्कको शुल्क बुझाउनु पर्ने बाध्यकारी नियम राखेको व्यवसायी र मजदुरहरूको भनाई छ ।
शनिवार बसपार्कको शुल्कको विषयमा छलफल गर्न अध्यक्षलाई बोलाएको र अध्यक्ष आएर एक्कासि तेरो गाडी हटाउँछु, तँलाई समितिबाट कारबाही गर्छु भनेर धम्की दिएर अध्यक्षसँग भएका युवाहरूले हातपात गर्न सुरु गरेपछि आफूहरूले त्यसको प्रतिकार मात्रै गरेको मजदुरहरूको भनाई छ । बसपार्क भित्र रहेका सटर र कवलहरूबाट मात्रै मासिक रूपमा २१ लाख आम्दानी हुने गरे पनि व्यवसायीहरुलाई बसपार्क शुल्कको नाममा शोषण गरिएको व्यवसायीहरुको भनाई छ । मजदुर र व्यवसायीहरुले बसपार्कको मा निःशुल्क रूपमा आफ्ना सवारी साधनहरु राख्न पाउनु पर्ने माग गरेका छन् ।
पूर्व अरनिको यातायातमा समितिले चर्को क्यु शुल्क लिएर व्यवसायीहरुलाई हैरानी बनाएको गुनासो बढेको छ । प्रत्येक ट्रिप शुल्क बापत १५ सय देखि ४५ सय सम्म असुलेको व्यवसायीहरुको भनाई छ । तर अध्यक्ष क्षेत्रीले भने अन्य यातायात संस्थामा भन्दा आफूहरुकोमा क्यु शुल्क न्यून रहेको दाबी गरे ।
अरनिकोमा एउटा गाडी दर्ता गर्दा ५ लाख रुपियाँ अतिरिक्त शुल्क लिने गरेको र ६ सय गाडी दर्ता गर्दा त्यो बापतको लाखौँ रुपियाँ अध्यक्षले लिने गरेको व्यवसायीहरुको आरोप छ । कम्पनी अन्तर्गतका गाडीको बिमा यस अघि प्रभु बिमा कम्पनीमा गर्ने गरेको भए पनि ३ वर्ष देखि कम्पनीका अध्यक्ष केदार क्षेत्रीको श्रीमती कार्यरत आइएमइ बिमा कम्पनीमा गर्दा त्यसबापत प्राप्त हुने २० प्रतिशत कमिसन समेत अध्यक्ष क्षत्रीले नै लिने गरेका छन् । तर क्षेत्री भने त्यसबापत प्राप्त हुने कमिसन आफूले समितिमा नै बुझाएको दाबी गरेका छन् ।