Prithvi Post

६ कार्तिक २०८२, बुधबार

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठक खासै उपलब्धीमूलक बन्न सकेन । बैठकबाट बाहिरिएका जेनजी घाइते अगूवाहरुले प्रधानमन्त्रीविरुद्ध आक्रोशित प्रतिक्रिया दिएका थिए । सरकारले निर्वाचनमा जान घाइते जेनजीहरु सहमत बनेको प्रचार सञ्चारमाध्यमबाट गराए पनि त्यस्तो कुनै सहमति नभएको उनीहरुले बताए । सरकारी पक्षले संविधानलाई केही पनि गर्न नसक्ने भन्दै निर्वाचनकै मात्र रटान लगाउँदा आफूहरु निराश बनेको घाइतेहरुको प्रतिक्रिया छ ।

रुपिन खड्काको नेतृत्वमा १८ जना घाइते प्रधानमन्त्रीसँग वार्ता गर्न पुगेका थिए । वार्तामा प्रधानमन्त्री कार्कीसँगै उर्जामन्त्री कुलमा घिसिङ, शिक्षामन्त्री महावीर पुन, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेलको पनि सहभागिता थियो । जेनजी घाइतेले संविधान बदल्नेदेखि जनमतसंग्रहसम्मका माग राखेका थिए । भ्रष्ट नेताहरुलाई कारवाही गर्न संविधान–कानून बाधक भए फेर्न तयार हुनुपर्ने उनीहरुको माग थियो । जवाफमा प्रधानमन्त्री कार्कीले दलका प्रमुख नेताहरुलाई पक्राउ गर्दा आफूरुलाई समेत सुरक्षा थ्रेट हुने बताएका एक घाइते अगूवाले बताए ।

उनले भने, ‘अहिले नै उनीहरुलाई पक्राउ गरिहाल्दा हामीलाई नै सुरक्षा खतरा हुन्छ, भोलि मलाई पनि गोली हान्न सक्छन् भनेर सम्झाउनुभयो ।’ बैठकमा बारबरा फाउन्डेसनको प्रसंग समेत उठेको थियो । एक घाइते अगूवाले यो सरकारमा बारबरा फाउन्डेसनको नाम जोडिएको छ, यसको वास्तविकता के हो भनेर सोधेका थिए । उनको प्रश्न थियो, ‘यो सरकार एनजीओले बनाएको हो भनिएको छ, बारबरा फाउन्डेसनको नाम आइरहेको छ । देशमा सक्षम मान्छेहहरु अरु पनि थिए होला, तपाईंहरु नै कसरी आउनुभयो रु हामीले त छानेका थिएनौं नि रु’ यो प्रश्नले प्रधानमन्त्री आक्रोशित बनेको अर्का घाइते आन्दोलनकारीले बताए ।

उनले सुनाए, ‘यो विषय आउनुअघिसम्म प्रधानमन्त्री धेरै बोल्नु भएको थिएन । तर, बारबरा फाउन्डेसनको प्रसंग आउनासाथ उहाँ भड्किनुभयो । सुरुमा हामीलाई नै थर्काउने तरिकाले प्रस्तुत हुनुभयो । त्यसपछि बारबराको गुणगान गाउन थाल्नुभयो । उनको योगदानबारे चर्चा गरेर हामीलाई कन्भिन्स्ड गर्न खोज्नुभयो । बारबरासँग आफ्नो राम्रो सम्वन्ध रहेको बताउनुभयो । सञ्चारमन्त्रीले पनि उहाँलाई साथ दिँदै बारबराले नेपालका पत्रकारहरुलाई समेत धेरै सहयोग गरेको सुनाउनुभयो ।’ बैठकमा जनमतसंग्रहको विषय उठ्दा पनि प्रधानमन्त्री कार्की रिसाएको उनले बताए । ‘जनमत संग्रहको उच्चारण हुनासाथ प्रधानमन्त्रीले तपाईंहरुलाई स्वागत नेपालले सिकाएर पठाएको हो भन्दै आक्रोशित बन्नुभयो,’ उनले भने । केही घाइतेहरुले यो संविधान नबदलेसम्म आफूहरु निर्वाचन स्वीकार गर्न नसक्ने बताएका थिए ।

जेनजी आन्दोलन २०८४ मा हुने चुनाव ८२ मा सार्नका लागि नभएर भ्रष्टाचारमूक्त देश र सुशासनका लागि भएको उनीहरुको भनाइ थियो । क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्नेमा उनीहरूले ध्यानाकर्षण गराएका थिए । अगूवा रूपिन खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ रु नियमले छेक्यो कि कानून र संविधानले छेक्यो कि रु जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरू गरौँ । तपाईँ चुनाव(चुनाव मात्र भनिरहनुभएको छ ।

के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो रु’ कार्कीले जवाफ दिइन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी काम गर्छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ । आआफ्नो ठाउँबाट काम भइरहेको छ। तपाईँहरु बोल्न नछाड्नुहोस् । हामीलाई दबाब दिन पनि नछाड्नुहोस् । हेर्नुहोला, अब नतिजा आउँछ ।’ बैठक करिब ४ घन्टा चलेको थियो । प्रधानमन्त्रीको सचिवालयले पठाएको प्रेस नोटमा घाइते जेनजीले भ्रष्टाचारीमाथि कारवाही नभए फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएको उल्लेख छ । गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानविन केकसरी भइरहेको छ भन्ने व्रिफिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0