Prithvi Post

७ मंसिर २०८२, शनिबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले देश र जनताको रक्षा गर्ने दावी गर्नुभएको छ । शुक्रवार काठमाडौँमा आयोजीत फोर्स घोषणा कार्यक्रममा उहाँले सो दावी गर्नुभएको हो ।

पुर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले राज्यका संयन्त्रले मात्रै मुलुक र जनताको जीउधनको सुरक्षा गर्न नसक्ने कुरा हालै भएको जेनजी आन्दोलनको क्रममा देख्नु, भोग्नु परेकाले पनि आफ्नो पार्टीले उक्त फोर्समार्फत देश र जनताको सुरक्षा गर्ने बताउनु भएको छ ।

उहाँले सो फोर्स राष्ट्रिय हितमा समर्पित हुने भएकाले यसबाट कोही पनि आत्तिनु नपर्ने बताउनु भएको छ । उहाँले एमालेप्रति विमति राख्ने अथवा खुदै यो संगठनप्रति असहमति राख्नेहरूको पनि जीउधन र अधिकारको रक्षा गर्न यो गठन गरिएको समेत बताउनु भएको छ ।

पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली  रहेको छ । संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी सदस्यको नाम घोषणा गर्नुभयो । टोलीमा सहसंयोजकसहित केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले रहनुभएको छ ।

टोलीलाई पार्टीका अध्यक्ष ओलीले बधाइ दिँदै सपथसमेत गराउनुभयो । फोर्समा पार्टीका विभिन्न जनसङ्गठनबाट प्रतिनिधित्व हुने र ती सङ्गठनबाट जिम्मेवारी लिइसकेका व्यक्तिलाई पनि समावेश गरिने नेता ढकालले बताउनुभयो । कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सुरक्षाका लागि फोर्सले काम गर्ने बतउनुभयो । गत असोज १५ गते भक्तपुरको गुण्डुमा उक्त फोर्स घोषणा कार्यक्रममा केन्द्रीय टोली सार्वजनिक गर्ने जनाइएको थियो ।-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0