काठमाडौँ । प्रगतिशील अभियानका संयोजक जनार्दन शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवसरवादी चरित्रकै कारण माओवादी पार्टी नै विघटन गरेको आरोप लगाउनु भएको छ । राजधानीको त्रिपुरेश्वरमा शनिबार आयोजित राष्ट्रिय भेलामा उहाँले सो आरोप लगाउनु भएको हो । उहाँले पार्टी निर्माणका विषयमा आफूले दुई वर्षसम्म निरन्तर आवाज उठाए पनि प्रचण्डले कुनै पनि सुझाव वा असन्तुष्टि सम्बोधन गर्न नचाहेको दाबी गरे।
उहाँले पार्टीभित्रको समस्यालाई समयमै समाधान गरिएको भए अहिलेको ‘जेनजी विद्रोह’ जन्मनै नपर्ने दाबी गर्नुभएको छ । उहाँले प्रचण्डसँगको अन्तिम भेटमा आफूले ‘आजसम्म तपाईं मेरो नेता हो, अब होइन’ भनेको स्पष्ट पारे । तर प्रचण्डले बाहिर ‘जनार्दनले आज पनि तपाई मेरो नेता हो, भोलि पनि हो’ भनेर प्रचार गरेको भन्दै उनले असन्तुष्टि पोखे ।
उहाँले प्रचण्डलाई लगातार ‘छलछामको राजनीति’ गरेको आरोप लगाउँदै माओवादी केन्द्र अन्य पुराना पार्टीसँगै अवसरवादमा फस्दा जनता निराश बनेको र त्यसकै परिणामस्वरूप जेनजी विद्रोह जन्मिएको बताउनु भएको छ। उहाँले नेतृत्व परिवर्तनको सम्भावना र महाधिवेशनपछि पार्टी सुदृढ भएर अघि बढ्ने डरले प्रचण्डले एकताको नाटक गर्दै पद टिकाइराख्न खोजेको समेत आरोप लगाउनु भएको छ ।
‘पद र राज्य दोहनमा रहने लोभका कारण प्रचण्ड अहिले पनि त्यही खेलमा छन्, तर अब त्यो सम्भव छैन,’ उहाँले भन्नु भएको छ । उहाँले पार्टी सामूहिक नेतृत्व प्रणालीमा जाने समेत जानकारी दिए ।
‘यो पार्टीले नेपाली विशेषताको मार्क्सवादी सिद्धान्त अँगाल्ने बताउनु भएको छ । नयाँ पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउनेबारे छलफल भएको समेत बताए । त्यसपछि सङ्गठन निर्माण अभियान चलाउने उहाँको भनाइ रहेको छ । उहाँको नेतृत्वको अभियान र नेसपा नयाँ शक्तिसहितको समूहबिच आइतबार एकता हुँदैछ ।