काठमाडौं। प्राविधिक विद्यार्थीले सामना गरिरहेका समस्याबारे द रेड च्याप्टर, घाइते जेन जी नेपाल र जृेन जी २.० ले चिकित्सा शिक्षा आयोग, सिटिइभीटी र शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको जनाएको छ । तीन संस्थाले अलग–अलग बुझाएको निवेदनमा प्राविधिक शिक्षाको वर्तमान संरचना विद्यार्थीको करियरमार्गमै बाधा बनेको दाबी गर्दै तत्काल सुधारका उपाय अपनाउन आग्रह समेत गरिएको बताइएको छ।
ती संस्थाहरूले १६ वर्षको उमेरमै एसइइ उत्तीर्ण गरी सिटिइभीटी अन्तर्गत अध्ययनपछि रोजगार र उच्च शिक्षातर्फ अघि बढ्न चाहने विद्यार्थीमा विभिन्न अवरोधमा भएकाले सो अबरोध हटाउनु पर्ने समेत माग राखिएको छ। । स्टाफ नर्स तहमा प्रवेश, स्नातक तहमा संक्रमण, पाठ्यक्रमको गुणस्तर, ओजेटी को प्रभावकारिता र रोजगारी तयारीजस्ता विषयमा गम्भीर चुनौती रहेको उनीहरूको निष्कर्ष रहेको छ।
यसैगरी, द रेड च्याप्टरले चिकित्सा शिक्षा आयोगमा बुझाएको निवेदनमा सिटीभीटी अन्तर्गत स्टाफ नर्स तहमा अगाडि बढ्न चाहने १० हजारभन्दा बढी विद्यार्थी आवश्यक व्यवस्थाको अभावमा रोकिएको उल्लेख छ। ग्रामीण क्षेत्रका विद्यार्थीले उच्च तहमा सहजै प्रवेश नपाउँदा रोजगारी र अध्ययन दुवै प्रभावित भएको संस्थाको भनाइ ै रहेको छ। घाइते जेन जी नेपालले यस वर्ष पीसिएल नर्सिङमा भर्ना हुन चाहने ९० हजार विद्यार्थी प्रवेश प्रक्रिया स्पष्ट नहुँदा अनिश्चिततामा परेको बताएको छ।
संस्थाले प्रवेश परीक्षादेखि व्यवस्थापनसम्मको प्रक्रिया समयमै र पारदर्शी बनाउन माग गरेको छ। सिटीइभीटी बाट प्राविधिक तालिम लिएका विद्यार्थी स्वास्थ्य, कृषि, इन्जिनियरिङ र वन विज्ञानका स्नातक तहमा सहज प्रवेश नपाउने समस्या दीर्घकालीन करियर जोखिमको कारण बन्न थालेको तीनै संस्थाले उल्लेख गरेका छन्।
जेन जी २.० ले प्राविधिक पृष्ठभूमिका विद्यार्थीका लागि स्नातक तहमा ५० प्रतिशत सीट आरक्षण आवश्यक रहेको दाबी गर्दै सम्बन्धित निकायलाई तत्काल नीतिगत व्यवस्था गर्न आग्रह गरिएको छ। त्यस्तै तीन वर्ष र १८ महिने तालिमका पाठ्यक्रमहरूमा प्रयोगात्मक सिकाइ पर्याप्त नहुँदा विद्यार्थीको सीप विकास प्रभावित भएको संस्थाहरूको मूल्यांकन गरिएको बताइउको छ।
अन्तिम महिनाहरूमा हुने ओजीटी र क्लिनिकल अभ्यास प्रभावकारी नहुँदा सिकाइको गुणस्तर घटिरहेको र अन्तिम परीक्षा तथा मूल्यांकन प्रक्रिया आधुनिक आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने उनीहरूको सुझाव छ। संस्थाहरूका अनुसार प्रवेश परीक्षामा विज्ञान विषयको कम उपस्थिति, तालिमपछि रोजगारीमा जोड दिन नसकिएको र स्नातक तहमा जाने स्पष्ट मार्गनिर्देशनको अभाव प्राविधिक विद्यार्थीसामु मुख्य समस्या बनेका छन्।
तीन संस्थाले प्राविधिक शिक्षालाई राष्ट्रिय रोजगार रणनीति, श्रम बजार आवश्यकतासँग जोडेर नीतिगत सुधार गर्न सरकारलाई आग्रह गरेका छन्। संयुक्त रूपमा जारी वक्तव्यमा प्राविधिक शिक्षा सुधारका विषयलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राखेर तत्काल कार्यान्वयनयोग्य योजना ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

