काठमाडौं,
रक्तचाप सन्तुलित हुनुपर्छ तर विभिन्न कारणले यसमा उतारचढाव आइरहेको हुन्छ । रक्तचाप घटबढ हुनु स्वास्थ्यको लागि राम्रो होइन । त्यसैले समय–समयमा आफ्नो रक्तचापको स्थिति के छ भनेर जाँच गर्नुपर्छ, खासगरी वयस्क उमेरपछि ।
अहिले धेरैजसो व्यक्तिलाई उच्च रक्तचापले सताइरहेको बेला यसको जाँच गर्नु अरु जरुरी भएको छ । रक्तचाप जाँच्नका लागि अहिले क्लिनिक वा अस्पताल नै धाउनुपर्छ भन्ने छैन । रक्तचाप जाँच्ने उपकरण घरमै राखेर प्रयोग गर्न सकिन्छ ।
पाली बजारमा अहिले डिजिटल र एनालग गरेर मुख्य दुई प्रकारका ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर पाइन्छ ।
कति पर्छ मूल्य ?
डिजिटल ब्लड प्रेसर नाप्ने मेसिनको मूल्य दुई हजारदेखि चार हजार रुपैयाँ पर्छ । त्यस्तै एनालगको १५ सयदेखि २५ सय रुपैयाँसम्म पर्ने अनलाइन फार्मेसी नेपमेडका राजन भट्टराई बताउँछन् ।
कसरी प्रयोग गर्ने ?
डिजिटल मेसिन प्रयोग गर्न एकदमै सजिलो छ । पाखुरामा ब्याण्डलाई बाँध्ने र मेसिनलाई अन गर्ने बित्तिकै ब्लड प्रेसरको लेबल डिजिटल मेसिनले देखाइहाल्छ । घरमै यसलाई जो कोहीले सजिलै प्रयोग गर्न सक्ने भट्टराई बताउँछन् ।
‘मेडिकल ज्ञान भएको तथा स्टेथिस्कोपले मुटुको चाल राम्ररी नाप्न सक्ने व्यक्ति घरमा छन् भने एनालग प्रयोग गर्न पनि सजिलो हुन्छ । पाखुरामा ब्याण्ड बाँधेर स्टेथिस्कोपले मुटुको धड्कन नापेर हेर्नुपर्ने हुन्छ । त्यसैले अनुभवी व्यक्तिले यसको प्रयोग गर्नु उपयुक्त हुन्छ,’ उनी भन्छन् ।
डिजिटल राम्रो कि एनालग ?
डिजिटल र एनालग दुवैको आ–आफ्नो विशेषता छ । डिजिटल मेसिन प्रयोग गर्न एकदमै सजिलो हुन्छ । घरमा सजिलै सबैले यसको प्रयोग गर्न सक्छन् । तर एनालग प्रयोग गर्न भने अनुभवी व्यक्ति हुनुपर्छ । तर एनालग मेसिनमा डिजिटलको तुलनामा नतिजा अझै सही आउने भट्टराई बताउँछन् । डिजिटलमा केही प्रतिशत तलमाथि हुनसक्छ । त्यसैले तुलनात्मक रूपमा डिजिटल भन्दा एनालग नै राम्रो हुने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन् ।
कस्तो अवस्थामा प्रेसर नाप्ने ?
टाउको दुखिरह्यो, रिंगटा लाग्यो भने प्रेसर नाप्नुपर्छ । प्रेसरको औषधि सेवन गरिरहेका व्यक्तिले पनि समय–समयमा प्रेसर नाप्नुपर्ने हुन्छ । ‘३५ वर्षभन्दा माथिका व्यक्ति र परिवारमा कसैलाई प्रेसरको समस्या छ भने बेलाबेला प्रेसर नाप्नुपर्छ,’ भट्टराई भन्छन् ।

