बुटवल । पहिलो पाइला नेपाल, बुटवल शाखाले सन्धिखर्क–८, नेपालीचौरमा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। ‘जहाँ दुःख्छ, त्यहाँ पहिलो पाइला पुग्छ’ भन्ने नाराका साथ सामाजिक सेवामा सक्रियरहेको सो संस्थाले न्यानो माया अभियान अन्तर्गत आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई ट्र्याकसूट, टोपी, मोजा र रुमाल वितरण गरिएको संस्थाकी अध्यक्ष गोमा भट्टराईले बताएकी छिन् ।
सो कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, वडाअध्यक्ष हुमप्रसाद बन्जाडे, भूमिकास्थान नगरपालिकाका उप–प्रमुख बालकृष्ण बन्जाडे, संस्थाका निवर्तमान अध्यक्ष सन्तोष बन्जाडे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पोखरेल, प्रधानाध्यापक गीता बेल्बास तथा पत्रकार गोपालप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो।
न्यानो कपडा वितरणका लागि आवश्यक आर्थिक सहयोग गुल्मी घर भई हाल दक्षिण कोरियामा कार्यरत अर्जुन भण्डारीले आफ्नो जन्मदिनको अवसरमा प्रदान गरेको बताइएको छ । यस अभियानले विद्यार्थीहरूलाई न्यानो मात्र नभई आशा र हौसला प्रदान गरेको सहभागीहरूले बताएका छन्।

