काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजमा आन्दोलनको नाममा लाखौँको बार्गेनिङ गरेको आरोपमा जेन–जी आन्दोलनको अपनत्व लिएका सुदन गुरुङका विश्वासपात्र विवेक ढकाल पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक जिल्ला चौँरीदेउराली गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका २८ वर्षका ढकालले गत पुस १६ र १७ गते नक्सालको एक होटलमा कलेजको व्यवस्थापकलाई बोलाएर डर, त्रास देखाएर लाखौँ मागेको बताइएको छ ।
ब्रिटिस कलेजले चार वर्षे कोर्ष भन्दै पैसा असुलेर सयौँ विद्यार्थीलाई गैरकानुनी रूपमा दुबई पठाएको र त्यहाँ अलपत्र पारेको प्रमाणहरू सार्वजनिक भएपछि अभिभावक तथा विद्यार्थीहरूले विरोध गर्दै आएको अवस्थामा प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू नै आफूले चाहेको बेला फेरबदल गर्नसक्ने क्षमता आफूसँग भएको दाबी गर्दै ढकालले माग गरेको रकम नदिए कलेज नै बन्द गरिदिनेसम्मको धम्की दिएका हुन् ।
कलेजले विद्यार्थीहरूलाई ‘इन्टर्नसिप’ र ‘क्रेडिट ट्रान्सफर’का नाममा दुबई पठाउने तर त्यहाँ पुगेपछि विद्यार्थीहरूलाई लेबरको रूपमा काममा लगाउने, कलेजको अस्तित्व शंकास्पद रहेको र विचल्लीमा परेको गुनासोसहित विद्यार्थीहरू आन्दोलित हुँदै आएका थिए ।
कलेजमा आन्दोलन चर्किरहेकै समयमा अहिले सरकारमा सबै आफूहरूले नियुक्त गरेका व्यक्तिहरू मन्त्री रहेकोले मागेको रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत ढकालले दिएको कलेज स्रोतले बतायो । ढकालले कलेज बन्द गर्न राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गर्ने धम्की दिँदै रकमको बार्गेनिङ गर्ने गरेको कलेज स्रोतले बतायो ।
ढकालले कलेज बन्द गर्न राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गर्ने धम्की दिँदै रकमको बार्गेनिङ गर्ने ढकाल मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभ (एक्सिसइन) सम्बन्धी कसूरमा पक्राउ परेको बताइएको छ ।
ढकालले २०८२ साल पुस १६ र १७ गते नक्सालस्थित एक होटलमा कलेजको व्यवस्थापकसँग भएका भेटघाटका क्रममा डर, त्रास र दबाब सिर्जना गर्दै रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । ढकालविरुद्ध सामाजिक सञ्जाल तथा सीमित अनलाइन समाचार पोर्टलमार्फत कलेजको प्रतिष्ठा, विश्वसनीयता र छविमा नकारात्मक प्रभाव पार्ने सामग्रीहरू फैलाएको आरोप पनि लगाइएको छ ।
त्यस्तै, गत पुस ८ गते ब्रिटिश कलेज रहेको भवन ट्रेड टावर परिसरमा नारा जुलुस, तोडफोड तथा सवारी साधनमा क्षति पुर्याउने गतिविधिमा ढकाल पनि संलग्न भएको आरोप लगाइएको छ । ढकाल किल युनिभर्सिटीको सम्बन्धनमा सञ्चालन भइरहेको ब्रिटिश इन्टरनेशनल कलेजका पूर्व विद्यार्थीसमेत हुन् ।
उनले कलेजलाई तिर्नुपर्ने शुल्क समेत भुक्तानी नगरेको बताइएको छ । पीडित पक्षले दिएको जाहेरीमा धम्कीपूर्ण ह्वाट्सएप म्यासेज, अडियो रेकर्डिङ, समाचार सामग्रीका लिङ्क तथा अन्य कागजातहरू प्रमाणका रूपमा प्रहरीसमक्ष पेश गरिएको थियो । सोही आधारमा ढकाल पक्राउ परेका हुन् ।

