Prithvi Post

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन् ।

कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना र उजुरीका आधारमा आयोगको टोलीले उनीहरूलाई डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रूपैयाँ र स्रोत नखुलेको ४० हजार ३५० रूपैयाँ बरामद भएको छ । साथै, उनको साथबाट थप ९६ हजार ७० रूपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ ।

त्यस्तै, नायब सुब्बा छवि प्रसाद रिसालको साथबाट घुसवापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी जम्मा ३८ हजार ८४८ रूपैयाँ बरामद भएको छ। आयोगले उनीहरूको साथबाट स्रोत नखुलेको थप रकमसहित कुल २ लाख ६८ हजार २८८ रूपैयाँ र विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेटसमेत बरामद गरेको जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नियन्त्रणमा लिइएका तीनै जनामाथि अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0