सिन्धुपाल्चोक (इन्द्रावती) । सिन्धुपाल्चोकको इन्द्रावती–सुनकोशी वरपर मात्रै होइन देशभरकै खोला–नदीमा जथाभावी दोहन भइरहेको छ । शक्ती र सत्तामा रहेका जनप्रतिनिधिकै लगानीमा मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन गरेर विद्यमान ऐनलाई समेत लत्याउदै आएको पाईएको छ । यसरी नदी खोलामा जथाभावी दोहन बढ्नुको मुख्य कारण ठेक्का र क्रसर व्यवसायमा जनप्रतिनिधि र राजनीतिक दलका नेताको संलग्नता हुनु हो ।
राजनीतिक दलका नेता र जनप्रतिनिधिको आडमा प्राकृतिक स्रोतको जथाभावी र अवैध दोहन भइरहेको छ । बागमती प्रदेश सरकारले जारी गरेको नदीजन्य पदार्थ संकलन र उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि–२०७५ विपरित स्थानीय जनप्रतिनिधिहरुले अहिले इन्द्रावती नदीमा विना दर्ता र अनुमती क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ ।
जिल्ला समन्वय समिति मातहत रहने गरी नदीजन्य पदार्थ संकलन गर्न मिल्ने क्षेत्रको पहिचान तथा निर्धारण गर्न र परिमाण यकिन गर्न जिल्ला समन्वय समितिका इन्जिनियरको संयोजकत्वमा प्राविधिक समिति रहने व्यवस्था गरिएको भएपनि स्थानीय जनप्रतिनिधिहरुलकै अबैध लगानीमा क्रसर उद्योग सञ्चालन भई रहदाँ समेत अहिलेसम्म अनुगमन र अनुसन्धान गर्ने आँट समितिले गर्न सकेको छैन । यसरी लामो समयदेखि मापदण्ड विपरित विद्यमान ऐन कानुनलाई लत्याउदै इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता समेत रहेका शशिनाथ आचार्यले इन्द्रावती नदी दोहन गर्दैै आएको पाईएको छ ।
स्थलगत अबलोकनबाट प्राप्त विवरण अनुसार वडाध्यक्ष आचार्यले स्थानीय जनप्रतिनिधिको आँडमा प्रमोद राउत, रावल राउतसंगको मिलेर क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । अहिलेसम्म सो उद्योग सरकारी कुनै पनि निकायमा दर्ता भएको भेटिएको छैन । कम्पनी रजिष्टार र घरेलु उद्योगमा दर्ता नगरि शक्तीको आँडमा सञ्चालन गरिएको सो क्रसर उद्योगको नाम समेत कतै छैन । बेनामी उद्योगका रुपमा लामो समयदेखि नदीजन्य बस्तुको दोहन गरि खुला रुपमा बिक्री गरिदै आएको भेटिएको छ ।
सो उद्योगबाट बिक्री भएको गिट्टी वालुवाको बील भने मेलम्ची नगरपालिकामा सञ्चालन भएको शिवराम भट्टराईको कम्पनीबाट बील काट्दै बिक्री गरिएको समेत पाईएको छ । स्मरण रहोस् शिवराम भट्टराईको लगानी रहेको क्रसर उद्योग मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पर्छ, भने शशीनाथ आचार्यलगातयको समुहले सञ्चालन गरेको बेनामी क्रसर उद्योग इन्द्रावती गाउपालिका वडा नम्बर ५ मा पर्दछ । यसरी जनप्रतिनिधिबाटै विद्यमान ऐन कानुनलाई बेवास्ता गर्दै अबैधधन्दा समेत चलाउदै आएका छन् ।
कुनै पनि नगर तथा गाउँपालिकाले कार्यविधिको पालना गरेका छैनन् । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले समेत कार्यविधि पालना नगर्नेमाथी कारबाही गर्ने आँट देखाउन सकेका छैनन । कार्यविधि तथा ऐन कानुन अनुसार सडक, पुल, विद्यालय क्षेत्र तथा खेतियोग्य जमिनको ५ सय मिटर वरपर उत्खनन गर्र्न वा क्रसर उद्योग सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ । तर आचार्यको समेत लगानी रहेको बेनामी उद्योग खेतियोग्य जमिनसंगै जोडिएर सञ्चालन गरिएको छ । सिन्धुपाल्चोकमा इन्द्रावती नदी आसपासका गाउँबस्तीका प्रायः स्थानीयवासीहरूले उक्त क्रसरबाट फाईदाभन्दा बढी नोक्सानी भएको गुनासो गर्दै आएका छन् ।
यसै सम्बन्धमा इन्द्रावती–५ का वडाध्यक्ष आचार्यलाई सम्र्पक गर्दा उनले भने,‘घरेलुमा दर्ता भएको होला ? इन्द्रावतीमा क्रसर छैन, २ वटा ‘वासिङ’ छ, घरेलुमा सोध्नु होला, मेरो काम वडाको सिफारिस दिने हो, अरु पालिकामा सोध्नु होला, आफुलाई थाहा छैन ।’ उनले मेलम्ची नगरपालिकामा दर्ता भएको कम्पनीको नाममा विल काटेर बिक्री गरिएको रहेछ नी भनी प्रश्न गर्दा उनले गत वर्ष काटिएको थियो होला अहिले नकाटीएको समेत दाबी गरे ।
यसरी विद्यमान ऐनलाई लत्याउदै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा मात्रै नदी आसपास ९ वटा त्यस्ता उद्योग रहेका छन् । कुनै समयको निर्मल इन्द्रावतीको नदीकिनार अहिले गिट्टी र बालुवा खन्न आउने ट्रक र एक्साभेटरका डोजरले भरिभराउ भएका छन् भने सो क्षेत्रमा १५–२० फिट गहिरो खाडल समेत बनाएका छन् ।
इन्द्रावती गाउँपालिकाका एक कर्मचारीका अनुसार अबैधरुपमा जनप्रतिनिधिकै लगानी रहेका क्रसर उद्योगबाट बर्षेनी करोडौ रुपैयाँ राजश्व समेत गुमी रहेको बताएका छन् । राजस्वको ठूलो हिस्सा र नदीको पूर्ण लुटबाट जनप्रतिनिधि धनी बन्दै गएको समेत भेटिएको छ । नदीजन्य पदार्थको उत्खनन गर्ने उद्योगहरू तीनै तहको सरकार मातहतका विभिन्न निकायको दायराभित्र पर्छन् । ईन्द्रावती किनारमा रहेका अधिकांश खेतीयोग्य जमिन दनुवार समुदायको छ ।
एकातिर उत्पादनमा कमी आउनु र अर्काेतर्फ सिँचाइको समस्या बढ्दै जानुले माझी समुदायका कृषकहरूमा चिन्ता बढेको छ । पहिला पहिला सिँचाइको समस्या नहुने अहिले नदी भासिएका कारण ईन्द्रावतीकै किनारमा रहेका अधिकांश जग्गा जमिन बाँझै बस्न थालेका छन् । सो समस्या समेत जनप्रतिनिधिकै संलग्नतामा बढ्दै गएको आरोप समेत लाग्दै गएको छ । सो बारे थप विवरणको खोजी कार्य जारी राखेको छ ।

