Prithvi Post

काठमाडौं । ललितपुरको बखुण्डोलमा निमार्णाधीन समिट अपार्टमेन्ट बनाउँदा छिमेकीको उठीबास लागेको छ । समिट होेटलको संरचना भत्काएर होटलसहित निर्माण गरिएको अपार्टमेन्ट सुरु गर्दा २०७९ चैत्र २४ गते मध्यरातमा छ आवासीय घरसहित ग्रीनविच भिलेज होटल प्रालि भासिएर क्षतिग्रस्त भएको थियो ।

योसँगै छिमेकीहरूको उठीबास लागेको हो । समिट होटल समूह र उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठको मुख्य लगानीमा निर्माण सुरु गरिएको समिट अपार्टमेन्टको फाउन्डेसन खन्दा ग्रीनविच होटलसहित उठीबास लागेका छिमेकीहरूलाई विभिन्न समयमा सम्झौता गर्दै क्षतिपूर्ति दिने भने पनि रविभक्त श्रेष्ठसहित समिट अपार्टमेन्टका लगानीकर्ताहरूले ललितपुर महानगरपालिकाको सहयोगमा कार्यान्वयन नगरी दुःख दिएका छन् ।

ललितपुर महानगरपालिकाको उपप्रमुखसहितकोे उपस्थितिमा स्वतन्त्र इन्जिनियरबाट गरिएको सर्वेक्षण र मूल्यांकनअनुसारको क्षतिपूर्ति दिने सम्झौता र सहमतिविपरीत ललितपुर महानगरपालिकाको सहयोगमा पीडितहरूलाई समिट अपार्टमेन्टका सञ्चालकहरूले क्षतिपूर्ति नै दिएका छैनन् ।

ललितपुर महानगरपालिका वडा नं.१ का वडाअध्यक्ष निर्मल तण्डुकारसहित तत्कालीन सांसद उदय शमशेर राणा र समिट अपार्टमेन्टका सञ्चालक रवीभक्त श्रेष्ठसहितको सहमतिअनुसार ललितपुर महानगरपालिका भवन निर्माण शाखा प्रमुख ई.श्रीकुमार महर्जन, समिट होटल प्रालि र ग्रीनविच होटलबीच भएको त्रिपक्षीय सम्झौता र सो सम्झौताबमोजिम प्राविधिक परार्मशदाताको क्षतिपूर्ति निर्धारण र भुक्तानीसम्बन्धी प्रतिवेदनलाई महानगरपालिकाकै सहयोगमा गुपचुप राख्दै आएको समिट समूहले वर्षौँसम्म क्षतिपूर्ति समेत नदिई ग्रीनविच होटललगायतका पीडितहरूलाई दुःख दिइएको हो ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी जग्गा खन्ने काम गरेर छिमेकीहरू ग्रीनविच होटलसहित सुन्जु पाण्डेय, रचना शाही, त्रिलोकध्वज विष्ट, अनु विष्ट, ऋगध्वज विष्ट र कञ्चनध्वज विष्टसहितको घर भासिएर छियाछिया भएपछि पीडितहरू महानगरपालिकालगायतका कार्यालयहरूमा क्षतिपूर्तिको माग गर्दै पुगेका थिए ।

लामो संघर्षपछि क्षतिपुर्ति दिन तयार भएको समिट समूहले भने अपार्टमेन्ट निर्माणको अन्तिम चरणमा पुग्दा यसअघिका सम्पूर्ण सम्झौता र सहमति तोडिसकेको पीडितहरूको भनाइ छ । पीडितहरूका अनुसार क्षतिपूर्ति दिने भनेर महानगरपालिकाको रोहबरमा सम्झौता भए पनि महानगरकै सहयोगमा समिट समूहले पीडितहरूलाई दबाबमा राखेको पीडितहरूको भनाइ छ ।

पीडितहरूका अनुसार समिट समूहले महानगरपालिकाको प्रमुख तथा उपप्रमुखसहित भवन विभागका प्रमुखसहितलाई प्रभावमा पारेकोले आफूहरूले सहमतिअनुसार क्षतिपूर्ति नपाइरहेकै समयमा उल्टै वडाको सहयोगमा अपार्टमेन्टको पहुँच मार्ग निर्माणलगायतमा सहयोग गरेको बताइएको छ । समिट समूहले पीडितहरूलाई दबाबमा राख्नको लागि महानगरपालिमा राजनीतिक पहुँचमार्फत दबाब दिइएको पीडितहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0