Prithvi Post

संजीप घिमिरे

भक्तपुर । आफ्नो प्रशासकीय सुविधाका लागि बनेपा नगरपालिकाले वडा नम्बर ५ स्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालय सार्न दबाब दिइएको छ। नगरपालिकाले शिक्षालय सार्न पत्राचार गरेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सानोठिमीका लागि टाउको दुखाइको विषय बनेको छ।

आगामी शैक्षिक सत्रबाटै लागू हुने गरी नेपाल बनेपा बहुप्राविधिक शिक्षालयलाई भवन र चर्चेको जमिन छोड्न नगरप्रमुख शान्तिरत्न शाक्यले पत्राचार गरेका छन्। माघ ४ गते नगरपालिका प्रमुख शाक्यले पठाएको पत्रमा भनिएको छ, ‘आगामी शैक्षिक सत्रदेखि शिक्षालयमा सञ्चालन हुने पठनपाठनको कार्यक्रम अन्यत्र वैकल्पिक स्थानमा सञ्चालनको व्यवस्था मिलाई सो ठाउँ खाली गरिदिनुहुन अनुरोध छ।’

नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले पत्राचार गरेको पुष्टि गरेका छन्। ‘यो मेरो व्यक्तिगत कुरा होइन, १७ औं नगरसभामा विशेष प्रस्ताव नै सर्वसम्मत पारित भएपछि पत्राचार गरिएको हो’, उनले भने।

शिक्षालय सार्न दबाब 

नगरप्रमुख शाक्यले जेन–जी विद्रोहको क्रममा नगरपालिकाको प्रशासकीय भवनमा क्षति पु¥याइएकाले आफूहरूले शिक्षालय सर्न खोजेको स्पष्ट पारेका छन्। ‘हामीसँग नयाँ भवन बनाउन पर्याप्त बजेट छैन, त्यसैले शिक्षालय सर्न खोजेका छौं।’ अन्नपूर्ण पोस्ट्सँग उनले प्रतिक्रिया दिए।

शिक्षालय सार्न सिंगो नगरसभाका सम्पूर्ण सभाषद् एकमत हुनु पालिकालाई बजेटकै अभावले हो भन्ने विद्यार्थीहरू मान्न तयार छैनन्। नगरपालिकाको यो प्रयास हजारौं विद्यार्थीको शैक्षिक भविष्य, अभिभावकको विश्वास र राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षाको आधारमाथि प्रहार गरिएको र त्यसको प्रतिकार गरिने अनेरास्ववियु काभ्रेले विज्ञप्तिमार्फत बताएको छ।

सीटीईभीटी स्रोतले जनाएअनुसार बजेट अभावकै कारण शिक्षालय सार्न दबाब दिइएको होइन, जेन–जी विद्रोहमा नगरपालिकाको प्रशासकीय भवन जलाउन शिक्षालयका विद्यार्थीहरूको हात रहेको आशंकामा पालिकाले यस्तो कठोर निर्णय गरेको बताइएको छ। यसले स्थानीय सरकारको विद्यार्थीहरूप्रति बदलाको भावना र शिक्षालयप्रतिको सतही दृष्टिकोण उदांगो भएको सरोकारवाला बताउँछन्।

वैदेशिक सहायतामा असर

सीटीईभीटीका प्रवक्ता एकराज अधिकारीका अनुसार नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको भौतिक पूर्वाधार चीन सरकारको सहयोगमा निर्माण गरिएको हो। चीन सरकार र सीटीईभीटीबीचको सम्झौताअनुरूप अर्बौं लगानीमा चिनियाँ सरकारले बनाइदिएको शिक्षालय भवन नगरपालिकाले प्रशासकीय भवन बनाउन खोज्नु सकारात्मक नभएको उनको भनाइ छ।

यसले मित्र राष्ट्र र विदेशी दाताहरूमा नराम्रो सन्देश जाने उनले सुनाए। प्रशासकीय भवनका लागि शिक्षालय मास्न नहुने सरोकारवाला बताउँछन्। शिक्षा पत्रकार समूहका महासचिव रोशन गाउँलेले पालिका आफैंले चलाउनुपर्ने प्राविधिक शिक्षालयलाई हटाउन खोज्नु दुःखद भएको बताए।

पूर्वसचिव एवं शिक्षाविद् डा. महाश्रम शर्मा पनि शिक्षालय मासेर प्रशासकीय भवनका रूपमा प्रयोग गर्दा नराम्रो नजिर बन्ने र यसले स्थानीय सरकारको गरिमा गिर्ने मात्र नभई शिक्षाको स्थिति थप दयनीय बन्ने बताउँछन्।

अब के हुन्छ ?

सीटीईभीटीको ६७ आंगिक शिक्षालयमध्ये नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा एक सुविधासम्पन्न शिक्षालय हो। १ सय २ रोपनी क्षेत्रफलमा फैलिएको यो शिक्षालयमा पाँच फ्याकल्टीमा डिप्लोमा, प्रिडिप्लोमा तथा एप्रेन्टिसिप र छोटा अवधिका तालिममा गरी ६ सय बढी विद्यार्थी अध्ययनरत रहेका शिक्षालय प्रमुख रोहित दहालले जानकारी दिए। नगरपालिकाको पत्रले शिक्षालय तरंगित भएको र आवश्यक सहजीकरणका लागि सीटीईभीटीलाई जानकारी गराइएको उनले बताए।

सीटीईभीटीका उपनिर्देशक एवं सो शिक्षालयका पूर्वप्रमुख ईश्वरचन्द्र घिमिरेले बनेपा नगरवासीलाई विविध प्mयाकल्टीमा १९ छात्रवृत्ति उपलब्ध गराएको, रोजगारी उपलब्ध गराएको र स्थानीय चहलपहल बढाउनुका साथै शैक्षिक हब बनाउन शिक्षालयले पु¥याएको योगदान बिर्सेर नगरपालिका उल्टो बाटो हिँड्न खोजेको बताए।

सीटीईभीटीका सदस्य सचिव ई.महेश भट्टराईले वार्षिक ८ करोड बढी व्ययभार बोकेर सीटीईभीटीले नेपाल बनेपा बहुप्राविधिक शिक्षालय सञ्चालन गरिरहेको बताउँदै प्राविधिक शिक्षाको विकासमा लाग्नुपर्ने नगरपालिका शिक्षालय सार्न लागिपर्नु सुखद नभएको र समन्वय गरेर समाधान निकालिने बताएका छन्। ‘हामी सिंगो शिक्षालय पालिकालाई हस्तान्तरण गर्न शिक्षा ऐन कुरेर बसेका छौं, उहाँहरू जिम्मेवारीबाट भाग्न पाउनुहुन्न,’ सदस्य सचिव भट्टराईले भने। (अन्नपूर्णपोष्टबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0