काठमाडौं । फागुुन २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूले आचारसंहिता उल्लंघन गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले राजनितिक दल र उम्मेदवाहरूसँग छलफल गरेको छ । जिल्लास्तरिय निर्वाचन अनुगमन समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोकत्वमा सोमबार उम्मदवार तथा राजनितिक दलका प्रतिनिधिहरूबीच छलफल भएको हो ।
छलफलमा संयोजक कोइरालाले निर्वाचनमा उम्मेदवार भएका उम्मेदवार र दलका प्रतिनीधिहरूलाई आचारसंहिता उल्लघन गरेमा उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिए । निर्वाचन आचारसंहिता उल्लंघन गरेको पुष्टि भएमा विजयी भइसकेपछि पनि पद खारेज हुन सक्ने उनले बताए । उनले निर्वाचन आचारसंहिता भित्र रहेर प्रचारप्रसार गर्न सुझाव दिए । छलफलमा गैरसरकारी महासंघकी उपाध्यक्ष प्रभा आचार्यले राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना नगरेको आरोपसमेत लगाइन् ।
यस्तै मानव अधिकार रक्षक परिषद्की प्रदेश उपाध्यक्ष मञ्जिता उपाध्यायले यो निर्वाचन विशेष परिस्थितिमा भइरहेकाले यसको गम्भीरता बुझ्न दल तथा उम्मेदवारलाई आग्रह गरिन् । उनले हाल डिजिटल माध्यमबाट आचारसंहिता उल्लंघन भइरहेको बताइन् । छलफलमा सहभागी उद्योग संगठन मोरङका प्रतिनीधिले उम्मेदवारहरूले चन्दा माग्ने क्रम बढेकाले व्यवसायीहरू फोन स्विच अफ गरेर बस्नुपर्ने अवस्था आएको गुनासो गरे । उनले निर्वाचन खर्च सरकारी संयन्त्रमार्फत नै पारदर्शी बनाएमा चन्दा आतंक कम हुने बताए ।
त्यसैगरी अर्का एक व्यवसायीले १० प्रतिशत व्यवसायीहरू चन्दाको त्रासले मोबाइल बन्द गरी भाग्नुपर्ने अवस्था आएको गुुनासो गरेका थिए । त्यसैगरी आफूलाई नयाँ पुस्ता (जेनजी) का प्रतिनिधिहरू बताउने युुवा समुुहले डिजिटल आचारसंहिता पालना नभएको भन्दै उनीहरूले मौन अवधिमा हुने चलखेल रोक्न सरकारसँग माग गरे । चुनावकै बेला होली पर्व पनि नजिएकाले सुरक्षामा चुनौती थप्न सक्ने देखिएकाले यसमा सचेत रहन उनीहरूले स्थानीय प्रहरी–प्रशासनलाई विशेष रुपमा आग्रह गरेका थिए ।छलफलमा सहभागी राप्रपाका प्रतिनिधिले आचारसंहिताका कारण प्रचारप्रसारको समय छोटो भएको र मौन अवधिमा हुन सक्ने आचारसंहिता उल्लंघन रोक्न प्रशासनले निगरानी गर्नुपर्ने सुझाव दिएका थिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य ऋषि पोख्रेलले संविधान र आचारसंहिता पालना गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताए । उज्यालो पार्टीका रेखबहादुर तामाङ, काँग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता र जसपाका अनिल ठाकुरले निर्वाचन सफल बनाउन सहयोग गर्ने र खर्च पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सहभागी रास्वपा, नेपाली कम्युनिस्ट पार्टी लगायतका राजनीति दलहरूले इमान्दारिता पूर्वक आफूहरू आचारसंहिता पालना गर्न तयार रहेको बताए ।
छलफलमा सहभागी मोरङ जिल्ला प्रहरी प्रमुख ९एसपी० कवित कटुवाल, प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगाल, निर्वाचन अनुगमन अधिकृत एवं कोलेनिका प्रमुख टोमनाथ उप्रेती, राष्ट्रिय अनुसन्धानका मोरङ प्रमुख राजन शर्मा सापकोटा लगायतले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार तथा दलहरूलाईसमेत कडाइका निर्वाचन आयोगले कारबाही गर्ने नीति अपनाइएको जानकारी गराएका थिए ।

