Prithvi Post

–अजवी पौड्याल

काठमाडौं । सरकारले गत बिहीबार चुनाव प्रचार–प्रसारका लागि हिँडेका उम्मेदवारले सवारीसाधनको सनरुफ खोलेर हिँड्न रोक लगाउने निर्णय गरेको थियो। गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारको सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधनको छत निकालेर प्रचार गर्न रोक लगाउने निर्णय गरेको थियो। यो निर्णय सबै उम्मेदवारलाई जानकारी गराइएको पनि थियो।

तर, विभिन्न दलका नेताहरूले गाडीको सनरुफ खोलेर चुनाव प्रचार गर्ने, भोट माग्ने र चुनावी गीतमा नाचगाँन गर्ने गरेका छन्। चुनाव प्रचारका लागि झापा पुगेका रास्वपाका सभापति रवि लामिछानेले मंगलबार गाडीको सनरुफ खोलेरै भाषण गरेका थिए। उनले प्युठानमा पनि सनरुफ खोलेर गाडीबाटै सर्मथकलाई सम्बोधन गरेर फर्किएका थिए।

यस्तै, मोरङ–६ की उम्मेदवार रुबिना आर्चाय पनि चुनाव प्रचारका लागि हरेक दिन गाडीको सनरुफ खोलेरै हिँड्ने गरेकी छन्। झापाकी उम्मेदवार निशा डाँगी, नेता प्रमोद न्यौपानेलगायत अन्य धेरै नेताहरू सवारीसाधन प्रयोग गर्दा सनरुफ खोलेर फिल्मको हिरो हिरोइन स्टाइलमा हिँडिरहेका छन्।

शनिबार चुनाव प्रचारमा जाँदा उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङ पनि सवारीसाधनको सनरुफ खोलेरै हिँडेका देखिन्थे। आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावका लागि उम्मेदवारहरूको घरदैलो कार्यक्रम निकै रफतारमा चलिरहेको छ। वर्षौंदेखि गाउँ नपसेका नेताहरू भोट माग्नका लागि गाउँमै बसिरहेका छन्।

उम्मेदवारको सुरक्षालाई ख्याल गर्दै सरकारले गाडीको सनरुफ खोलेर भोट माग्न नपाउने निर्णय गरेको थियो। तर, सरकारी निर्णय लत्याउँदै विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। सरकारले कारबाही गर्छ रु गृह मन्त्रालका प्रवक्ता आनन्द काफ्ले भन्छन्, सनरुफ खोलेर प्रचारमा हिँड्दा उम्मेदवार नै असुरक्षित हुने अवस्था देखियो।

जसले जताबाट जे गरे पनि भयो, यसैले उहाँहरूको व्यक्तिगत सुरक्षालाई ध्यान राख्दै सरकारले यो निर्णय गरेको हो। सरकारको निर्णय बाबजुत पनि अटेरी गरेर विभिन्न नेता तथा कार्यकर्ताले गाडीको सनरुफ खोलेर प्रचार गरेको खबर गृह मन्त्रालयमा आएको प्रवक्ता काफ्लेले जानकारी दिए।

‘सूचना आएका जिल्लामा जिल्ला सुरक्षा समितीलाई जानकारी गराएका छौ। उहाँहरूले नै के कारबाही गर्ने निर्णय गर्नुहुन्छ। केही उम्मेदवारलाई व्यक्तिगत पत्र पठाएर पनि सचेत गराइएको छ,’ गृह प्रवक्ता काफ्ले भन्छन्, ‘यो विषय सरकारले कडाइ गर्ने भन्दा पनि उम्मेदवार आफैंले बुझ्नुपर्ने विषय हो। उहाँहरूकै सुरक्षाका लागि त सरकारले सचेत हुनका लागि आग्रह गरेको हो।’  (अन्नपूर्णपोष्टबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0