काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ। आयोगमा रहेको उम्मेदवारको वैयक्तिक विवरणमा किशोरीले कमल निर्माण सेवाको सेयर होल्डर भएर काम गरेको खुलाएका छन् ।
त्यस्तै किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालो सूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ । धनुषा निर्वाचन क्षेत्र १ का निर्वाचन अधिकृत मनोज बरालले रास्वपा उम्मेदवार साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको बताए ।
उनले आफूसँग पनि उम्मेदवारी खारेजीको आधिकारिक पत्र नआएको भने बताए । रास्वपा उम्मेदवार साहको कमल कन्स्ट्रक्सन कालोसूचीमा रहेको प्रमाणसहित उनको उम्मेदवारी खारेजका लागि निर्वाचन क्षेत्र नं. १ को कार्यालयमा उजुरी परेको थियो । कार्यालयले सो उजुरीमाथि कारबाही गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको बरालले बताए ।
यसअघि ०७९ को चुनावमा किशोरी साह जनमत पार्टीबाट धनुषा-१ मै उम्मेदवार बनेका थिए । उनी १४ हजार ४ सय ६७ मतसहित तेस्रो स्थानमा थिए । यस क्षेत्रमा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।

