काठमाडौं । विहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत गन्दै गर्दा भोजपुर जिल्लाका एक मतदाताले हस्तलिखित पत्र मतपत्रसँगै आफ्नो भावना र देशप्रतिको चिन्तालाई एउटा चिठीमा कोरेर मतपेटिकामा खसालेको भेटिएको छ । भोजपुर नगरपालिकाको मतगणना जारी रहँदा वडा नम्बर २ को मतपेटिकामा सो हस्तलिखित पत्र फेला परेपछि अहिले सोही पत्रको चर्चा परिचर्चा चलेको छ । भोजपुरका मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले मतपेटिकामा सो चिठी फेला परेको बताएका छन्। ‘मतगणनाका क्रममा एउटा चिठी भेटिएको थियो । त्यो चिठीमा कसैलाई गालीगलौज गरिएको छैन, बरू देश विकास र सुशासनका लागि केही सकारात्मक सुझावहरू लेखिएका छन्,’ उनले भने, ‘यो चिठीले अन्य मतपत्रहरूलाई कुनै असर गरेको छैन, न त यो कुनै कानुनी कारबाहीको विषय नै हो । एउटा मतदाताले आफ्नो मनमा लागेको कुरा व्यक्त गर्ने माध्यमका रूपमा यसलाई प्रयोग गरेको देखिन्छ ।’ कापीको पानामा हातले लेखिएको उक्त पत्रमा पाँचवटा बुँदाहरू समेटिएका छन् । पत्रको अन्त्यमा प्रत्येक बुँदापछि ‘हाम्रो मत खेर जान नदेऊ गगन’ भन्ने पदावली दोहोर्याइएको छ । जसले नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन बुझिन्छ ।
मतपेटिकामा भेटिएको सो पत्रमा यस्तो लेखिएको छ :
चिठीमा हाम्रो मतले समृद्ध नेपाल र सम्मानित नेपालीको खाका कोरोस्, सबै नेपालीमा मेलमिलाप छाओस् र राष्ट्रिय एकता मजबुत होस्, देशमा व्याप्त बेथिति र भ्रष्टाचारको अन्त्य होस् र सुशासन कायम गरियोस्, पाँच वर्षको अवधिभर निर्वाचित प्रतिनिधिहरूले जनमतको सम्मान गरुन् र बारम्बारको अस्थिरता नहोस्, सहिदहरूको सपना साकार पारियोस् । नेपालको भू–परिवेश र अन्तर्राष्ट्रिय जगतमा भारत र चीनसँगको सम्बन्ध सन्तुलित राखियोस् र नेपालको स्वाधीनताको रक्षा गरियोस् भन्ने उल्लेख छ । चिठीको अन्त्यमा ‘जय नेपाल, जय नेपाली, जय नेपाली आमा’ भन्दै ‘राष्ट्र निर्माणको जय होस्, अवसरवादीको अन्त्य होस्’ भन्ने नारा लेखिएको छ ।

पछिल्लो समय राजनीति र नेताहरूप्रति जनतामा बढेको असन्तुष्टि र आशाको मिश्रण यस चिठीमा स्पष्ट देखिन्छ । निर्वाचन अधिकृत दाहालका अनुसार यस्ता पत्रहरूले मतदाताको सचेतता र देशप्रतिको चिन्तालाई झल्काउँछ ।

