साउन २६, भक्तपुर
दोलखाबाट काठमाडौं आइरहेको यात्रुवाहक बस शुक्रबार बलेफी गाउँपालिकाको खाडीचौर बजारको पसलमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार घाइते सबैलाई तत्काल उपचारका लागि सिन्धु सदाबहार अस्पताल लगिएको छ ।
बा ४ ख १९३३ नम्बरको अरनिको यातायातको यात्रुबसमा १२ जना भन्दा बढी यात्रु सवार थिए । बस ब्रेक फेल भएर अनियन्त्रित भएपछि खाडीचौर पुलबाट सिधै व कपडा पसलमा गएर ठोक्किएको थियोे । बीच बजारमा एकाएक बस ठोक्किएपछि स्थानीयहरु डराएका थिए।
यात्रुबसका चालक, बस ठोक्किएको पसलका सञ्चालकसहित ८ जना घाइतेको अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । ‘अहिले क्षतिग्रस्त यात्रु बस सडक बीचमा नै रोकिएको छ, हटाउन प्रयासरत छौं, घाइतेबारे विवरण संकलन गर्दैछौं,’ प्रहरी निरीक्षक न्यौपानेले भने । दुर्घटनाका कारण दुई पसलमा क्षति पुगेको छ ।

