सोविता गौतमको मनपर्ने कवि भुपि शेरचन
भदौ-१७
सांसद सोविता गौतमलाई ‘तपाईंलाई कुन पुस्तक मनपर्छ।’ भनेर सोद्दा सोविता भन्छिन् ।
सोविताले आफू कविताको पाठक भएको उदाहरण पेससहित भूपी शेरचनाको कविता ‘मैनबत्तीको शिखा’ पढेर सुनाइन्। उनले कविता पढ्नुअघि भनिन्, ‘कविमा मलाई भूपी शेरचन असाध्यै मन पर्छन्। मैले उहाँका सबैजसो कविता पढेको छु। कतिपय कविता कन्ठ गर्ने पनि छ ।’
ललितपुरमा आयोजित कलिङ साहित्य महोत्सवको दोस्रो दिनको सेसन थियो ‘अन्तरसम्बन्ध : साहित्य राजनीति’। सेसनमा राजनीतिकर्मीहरूले साहित्यमाथि विमर्श गरिरहेका थिए।
लेखक तथा कविको पहिचानसमेत बनाएका कांग्रेस नेता गुरुराज घिमिरेले साहित्य हृदयबाट आउने भएकाले यो फेयर हुने बताए।
तर राजनीतिक संसारभरि नै फेयर नहुने भनेर सुनाए। सहजकर्ता विमलले पार्टीको आन्दोलनमा सक्रिय भएर पछि प्रज्ञा प्रतिष्ठानमा कुलपति बनेका लेखकहरूको उदाहरण दिँदै सोधेका थिए, ‘तपाईंका कविता संग्रह र पुस्तक पनि प्रकाशित छन्।अहिले राजनीतिक रुपमा पार्टीमा तपाईंको भूमिका छैन। तपाईं प्रज्ञा प्रतिष्ठानको कुलपति किन नहुने?’
गुरुले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा व्यतीत भएकाले राजनीतिमै सक्रिय हुने बताए। राजनीतिलाई संग्लो बनाउन पनि आफू सक्रिय हुनुपर्ने उनको दाबी थियो। ‘कुलपतिजस्तो पद साहित्यमा लागेका, साहित्यका भावना राजनीतिमा जोड्ने साहित्यकारका लागि फेयर हुन्छ। राजनीतिलाई साहित्यको धारामा मिसाउँदा फेयर हुन्छ। हामीले त सघाउने हो,’ उनले भने।
सांसद विद्या भट्टराईले साहित्य समाज रुपान्तरणको महत्वपूर्ण पक्ष भएको बताइन्। ‘चेतना र नीतिलाई कसरी समाजसँग जोड्दै लैजाने, यसमा साहित्यको महत्व हुन्छ। राजनीति र साहित्य सँगसँगै गएमा समाज रुपान्तरण हुन्छ,’ विद्याले भनिन्।
वक्ताहरूलाई मनपर्ने लेखक र पुस्तकबारे सोधियो। गुरुराजले कवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, माधव घिमिरे, भूपि शेरचन सम्झिए। विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’, ‘सरुभक्तको ‘पागल वस्ती’, सेक्सपियर, आन्तोन चेखब र ओ हेनरी सम्झिए।
विद्या भट्टराईले आफूलाई प्रभाव पार्ने नेपाली पुस्तकहरूमा अमर न्यौपानेको ‘सेतो धरती’, अमृता लम्सालको ‘हजुरआमाको कथा’, नवराज केसीको ‘शून्यको मूल्य’ सम्झिए।
सोवितालाई सहजकर्ता विमलले राजनीतिमा आउन कुन किताबले प्रभाव पार्यो भनेर सोद्दा, ‘साहित्यले मलाई झकझकाउन मद्दत गरेको हो। तर साहित्य पढेर राजनीतिमा आएको होइन। हामीले विकासलाई गतिमा हेरिरहेका छौं। कुन गतिमा हुनुपर्थ्यो। कहाँ पुग्यो। युवाहरूले राजनीतिमा हस्तक्षेप गर्न आएका हौँ,’ सोविताले भनिन् ।


