शिक्षामन्त्री ख्वपमा ः विश्वविद्यालय विधेयक अगाडि बढाउने आश्वासन
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मंगलबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गरेकी छन् । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउँदै आएको सन्दर्भमा मन्त्री भट्टराईले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरुको निरीक्षण गरेकी हुन् ।
मन्त्री भट्टराईलाई नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजमा स्वागत गरेका थिए ।
निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य उदाहरणीय र अनुकरणीय रहेको बताउँदै भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्वीकृति पाउनुपर्छ भन्ने विषयमा आफू सँधै सकारात्मक रहेको बताइन् । ख्वप विश्वविद्यालयको विधेयकलाई पूर्णता दिने विषयमा लामो समयदेखि छलफल चलिरहेको र यसले पूर्णता पाउनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको बताउँदै ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको बताइन् ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद् प्रेम सुवालले मन्त्रीसक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिँदै ख्वप विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रुपमा स्थापना गरी देशभरिका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षाको अवसर प्रदान गर्ने उद्देश्य रहेको बताए । ख्वप विश्वविद्यालय विधेयक संसदबाट छिटो पारित भए विद्यार्थीले सहज रुपमा उच्च शिक्षा हासिल गर्ने अवसर पाउने उनले बताए ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा प्राप्तिको लागि नेपाल ट्रष्टसमक्ष पटक पटक पत्राचार समेत गरिसकेको बताउँदै ख्वप विश्वविद्यालय विधेयक २०८० पारित गर्न आवश्यक पहल एवम् प्रक्रिया अगाडि बढाउन मन्त्री भट्टराईसमक्ष अनुरोध पत्र हस्तान्तरण गरे ।
मन्त्री भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङलगायतको स्थलगत अवलोकन गरी कलेजहरुबाट प्रवाहित सेवा सुविधा, विद्यार्थी संख्या र भौतिक अवस्थाबारे जानकारी लिएकी थिइन् । मन्त्री भट्टराईलाई सचिव सुवालले पार्टीका प्रकाशनहरु, नगर प्रमुख प्रजापतिले नपाका प्रकाशन र कलेजका प्रकाशनहरु उपहारको रुपमा प्रदान गरे ।


