काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको विरुद्धमा लाग्नु गलत भएको बताउनु भएको छ । उहाँले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा सरकारी निवास बालुवाटारमा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा सो कुरा बताउनु भएको हो ।
उहाँले सो अनौपचारिक भेटघाट नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनमा भएको क्षति, हाल पार्टीले अङ्गीकार गरेकोे नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, वर्तमान सरकारले विकास र सुशासनका लागि गर्दै आएका कामबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको बताइएको छ ।
अध्यक्ष ओलीले “पूर्वराष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान अरू नेताले नगरेका र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत् रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर ‘मिडिया’ र पार्टीका अन्य नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो ।
यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यस रुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ । केन्द्रीय कमिटीले उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनुु होइन”, अध्यक्ष ओलीले भन्नुुभएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।