Prithvi Post

३ मंसिर २०८२, मंगलवार

काठमाडौं । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखरा–९ नयाँ बजारमा रहेको सहकारीबाट पूर्व तथा वर्तमान सहकारीका पदाधिकारी तथा सञ्चालक र प्रवन्धसमेतको मिलेमतोमा रकम हिनामिना प्रकरणमा अध्यक्षसहित पदाधिकारी, प्रवन्धक, कर्मचारी बुधबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार उपाध्यक्ष शम्भुराज बास्तोला पनि पक्राउ परेका छन् ।

योसँगै पोखरा बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको हो । सहकारीको ८८ करोड सत्तरी लाख ९८ हजार रुपैयाँ हिनामिना गरिएको वित्तीय विश्लेषक निर्मल गौतमले गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष शम्भुराज, प्रबन्धक भीष्मप्रसाद गुरुङ, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहाल, सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चलक समिति सदस्य दोर्जे तामाङ पनि यसअघि नै पक्राउ परिसकेका छन्।

गोदार पोखराका इन्जिनियर हुन् । उनको नेतृत्वका र यसअघिका पदाधिकारीसमेतको संलग्नतामा प्रवन्धक गुरुङसहितको गठजोडबाट गलत ढंगले सहकारीको रकम व्यक्तिगत सम्पत्ति आर्जन र स्वार्थमा प्रयोग गरिएको आरोप छ । पूर्व तथा वर्तमान सहकारी पदाधिकारी तथा सञ्चालक र कर्मचारीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कास्की उपस्थित गराउने कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । सञ्चालक समितिका पदाधिकारी, ब्यवस्थापकसमेतका ब्यक्तिहरुको गठमेलमा सहकारीको सिद्धान्त र मूल्य मान्यताहरुको बर्खिलाप गरी बचतकर्ताहरुको हितविपरित रकम हिनामिना गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0