Prithvi Post

३ मंसिर २०८२, मंगलवार

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सात वटा आधार चयन गरेको छ । अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले ती आधारहरू मातहतका कमिटीहरूमा पठाएको जनाएको छ । मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औँ महाधिवेशनका लागि मंसिर १३ गते देशैभरि एकै पटक प्रतिनिधि छनौट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक गरिसकेको छ । निर्देशनमा महाधिवेशन प्रतिनिधि हुनका लागि केन्द्रीय संगठन विभागले प्रमाणित गरेको पार्टी सदस्यताको विवरणका आधारमा गर्नुपर्ने उल्लेख गरिएको छ । यसैगरी पार्टी केन्द्रीय कार्यालयमा रहेको पार्टी सदस्यता भूगोलमा लैजान चाहनेहरूले कात्तिक मसान्तसम्ममा सदस्यता स्थानान्तरण गरिसक्नु पर्ने अपानीमा जनाइएको छ ।

पदेन प्रतिनिधि रहेका आयोजकहरूले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन पाउने छैनन् । बाँकी सबै पार्टी सदस्यहरूले तोकिएको एउटा मात्र क्लस्टरमा सहभागी भएर प्रतिनिधि छनौट गर्ने पाउने एमालेको अपानीमा उल्लेख गरिएको छ । दलित र श्रमिकको क्लस्टरमा रहेका पार्टी सदस्यहरूको विवरण जिल्ला र प्रदेश कमिटीले एक हप्ता अगाडी नै सार्वजनिक गर्न एमालेले निर्देशन दिएको छ । यसैगरी जनसंगठनमा रहन चाहने पार्टी सदस्यलाई आफ्नो नाम भूगोल वा विशेष कमिटीबाट अलग गर्नुपर्ने प्रावधान राखिएको छ । प्रतिनिधि छनौट गर्दा कुनै विवाद वा अस्पष्टता भएमा केन्द्रीय संगठन विभागमा सम्पर्क गर्न भनिएको छ तर विवादका नाममा आवश्यक भन्दा बढी प्रतिनिधि पठाए विभागले त्यसलाई मान्यता नदिने अपानीमा जनाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो जारी गर्नु भएको अपानी मातहतका कमिटीहरूमा पुग्ने क्रममा रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ । उहाँले निर्देशन प्राप्त गरिसकेपछि त्यसका आधारमा जिल्ला कमिटीहरूले संघीय निर्वाचन क्षेत्र अनुसारका प्रतिनिधि छनौटको व्यवस्था गर्ने बताउनु भएको छ । महाधिवेशनमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय, भूगोल र विभिन्न क्लस्टर र मनोनीत सहित २ हजार १ सय २७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । छनौट भएका प्रतिनिधिले फोटो सहित संगठन विभागले पठाएको ढाँचामा विवरण भरेर केन्द्रीय कार्यालयमा पठाउनु पर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0