निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउने गरि कार्य सम्पादन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुने समेत बताउनु भएको छ । उहाँलेृ युवापुस्ताको आन्दोलनपश्चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तरराष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ, देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक समाज, युवापुस्ताका अभियन्ता र सर्वसाधारण नागरिक सबैको संयोजनकारी र सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना व्यक्त गर्नेक्रममा राष्ट्रपति पौडेलले विश्वमा न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अझ बढी अग्रसरता लिनुपर्ने उल्लेख समेत गर्नुभएको छ । मानवले मानवजस्तो भएर बाँच्न पाउने जीवनको आधार मानव अधिकार भएकाले आज विश्वमा मानव अधिकार दिवसलाई उच्च महत्वका साथ मनाइँदैछ, मानव अधिकार जन्मसिद्ध हक भएकाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषय नेपालको संविधानले अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्यायलाई मजबुत बनाउन योगदान पु¥याएको समेत बताउनुभएको छ ।