माओवादी अहिले पार्टी नै रहेन : नेता जनार्दन शर्मा
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन माओवादी केन्द्रमा आफ्नो कुरा सुनुवाइ नै नभएको बताएका छन्। चुनावी अभियानमा रुकुम पश्चिममा रहेको शर्माले पार्टीको कार्यक्रममा बोल्दै माओवादी १२० सीटबाट घटेर २–३ सीट जित्ने अवस्थामा आइपुगेपछि विघटन गरिएको आरोप लगाए। जनयुद्धमा सामेल भएर नेपाल सामन्ती उत्पीडनका विरुद्ध विद्रोहमा सहभागी हुनेहरूको स्मरण गरे।
उनले भने, ‘जनयुद्धले एउटा आधार तयार गर्यो, त्यो जगमा टेकेर सबै सात राजनीतिक दलहरू, त्यतिबेलाको नेपाली कांग्रेस, एमाले लगायतका सात राजनीतिक दलहरू र माओवादीले एक साथ हामीले जनआन्दोलनको आह्वान गरेर दोस्रो जनआन्दोलन मार्फत राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण भयो।
संविधान सभाको घोषणा भयो र संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचन भयो।’ समावेशी र एउटा सहभागितामूलक समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने, सामाजिक न्याययुक्त समाज बनाउने, दलितलाई एउटा छुवाछुत विरुद्धको समानताको अधिकार, महिलाहरूको समावेशिता र सम्पूर्ण अधिकार, गरिबहरूको अधिकार, सबै जाति, जनजाति, अल्पसंख्यकहरुका अधिकारहरूलाई संविधानमा लेख्न कामसम्म सफल भएको बताए। उनले थपे, ‘त्यो धेरै ठुलो उपलब्धि थियो। यो उपलब्धि र यसले प्राप्त गरेको अवसरलाई प्रयोग गर्ने क्रममा पार्टीहरू र नेताहरूले अवसर गुमाएको कारणले आज प्राप्त उपलब्धि कमजोर भएको छ।
त्यो संविधान आज हामीसित छैन। त्यो संविधान मूच्र्छित छ, त्यो संविधान कोमामा छ। यसमा नेताहरूले समीक्षा गर्नुपर्ने थियो। नेताहरूले यसमा पश्चात्ताप गर्नुपर्ने थियो, आत्मालोचना गर्नुपर्ने थियो।’ उनले तत्कालीन माओवादी पार्टीले जनताका एजेन्डा छाडेको स्मरण गरे। उनले थपे, ‘जनजीविकाका प्रश्नहरूमा काम गरौँ भनेर प्रश्न उठाइरहँदा उल्टो बाटोमा हिँड्नु भयो। दुःखका साथ भन्नुपर्छ, माओवादी पार्टी विघटन भएर आज माओवादी पार्टी छैन। आज नेपाली पार्टी बनाएर हाम्रा नेताहरू जानुभएको छ।
जेनजी आन्दोलनले पछिल्लो नेतृत्व, नेताहरूले र त्यस मध्येका नेताहरूको केही चित्र उदाङ्गो पारिदियो।’ जनताको एजेन्डा स्थापित गर्नको लागि आफूले माओवादीमा सङ्घर्ष गरेको भएपनि सफल नभएको सुनाए। उनले भने, ‘मैले तत्कालीन पार्टी भित्र सङ्घर्ष गरेको हुँ। आज रुकुमका जनता जनतासँगको हाम्रो जो सम्बन्ध छ आज छ। यो दुख–सुखको सम्बन्धलाई बचाइराख्नका लागि मैले पार्टीभित्र धेरै प्रस्तावहरू राखेको थिएँ। मेरो कुरा सुनुवाइ भएन। हामीले १२० सिट जितेका थियौँ। ती १२० सिट जितेका सिटहरुबाट घटेर हाम्रा २–३ सिट जित्ने अवस्थामा आइपुगेका थियौँ।’


