दार्चुलाको नागुवासीले गरे ‘नो भोटको’ निर्णय
नरेन्द्रसिह कार्की
दार्चुला । नौगाड गाउँपालिका–१ का सुशीला डडालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनदेखि निरन्तर मतदान गरेकी छिन् । तीनपटक प्रतिनिधिसभा र दुईपटक प्रदेश सभा निर्वाचनमा मतदान गरेकी उनी अहिलेको प्रतिनिधिसभा निर्वाचनमा भोट दिने पक्षमा छैनन् ।
मतदान गर्ने उमेर भएदेखि आफूले निरन्तर भोट हाले पनि सडक निर्माण गर्छु भन्दै राजनीतिक दलले पटकपटक झुटो आश्वासन मात्रै दिएको उनले बताइन् । सडक गाउँ पुर्याउनु त कहाँ(कहाँ गाउँमा हिँड्न गोरेटो बाटोसमेत राम्रो छैन् ।
अप्ठ्यारो बाटोका कारण कयौं घोडा खच्चड भीरबाट लडेर बर्सेनि मर्छन् । आखिर भोट के को लागि दिने ? उनको प्रश्न छ । ‘गाउँमा विद्यालय छ विद्यार्थी बस्न भवन प्रयाप्त छैन । भवन नहुँदा एउटै कोठामा राखेर विद्यार्थी पढाउन बाध्य छन् । बाढीले झोलुङ्गे पुल बगायो ।
५ मिनेट लाग्ने बाटो अहिले एक घण्टा बढी हिँड्नुपर्छ । फोन राम्रो सँग चल्दैन् । सडक यहाँहरुले देखिहाल्नु भयो होला रु’ उनले भनिन् । अहिले पनि स्थानीयले पाँच घण्टा पिठ्युँमा बोकेर खाद्यान्न घरसम्म पुर्याउने गरेको उनले सुनाइन् ।
उनले एजेन्डा पूरा नहुने अवस्था आएपछि भोट नदिने निर्णय गरेको बताइन् । डडालकै जस्तो गुनासो छ स्थानीय ठगेन्द्रसिंह जुहारीको । ‘कम्तीमा सडक काट्न सुरु भएको भए मतदान दिन तयार छौं,’ उनले भने, ‘तर पटकपटक हामीलाई सडक पुर्याउँछौं भनेर ठगियो ।’
‘०६४ सालमा तत्कालीन माओवादीका लक्ष्मणदत्त जोशी, ०७० र ०७४ मा एमालेका गणेशसिंह ठगुन्ना र ०७९ मा कांग्रेसका दिलेन्द्रप्रसाद बडूलाई जिताएकै हौं’, अर्का स्थानीय लालसिह डडालले भने, ‘तर सबैले आश्वासन मात्रै दिए ।
२० प्रतिशत पनि काम यहाँको विकासको लागि कार्यान्वयन गरेनन् ।’ नागुवासीको सडक निर्माणको माग सम्बोधन नभएसम्म मतदानमा सहभागी नहुने अडान यथावत छ । विकासमा पछि परेको भन्दै आगामी फागुन २१ गतेको निर्वाचन बहिस्कार घोषणा गरेका नागुवासीले दल र तिनका उम्मेदवारले विकास निर्माणमा लिखित प्रतिबद्धता नगरेसम्म निर्वाचनमा भाग नलिने अडान यथावत राखेका हुन् ।
राजनीतिक दल र तिनका उम्मेदवारले नागु क्षेत्रको सडक लगायतका विकास निर्माणका कार्य पूरा नगरेसम्म मतदानमा सहभागी नहुने निर्णय यथावत रहेको संघर्ष समितिका संयोजक करनसिंह डडालले बताए । उनले भने, ‘यहाँको जनताको माग भनेकै दल्लेख(नागु सडक निर्माण हो । सडक निर्माण नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निष्कर्षमा हामी पुगेका हौ ।’ (अनलाईन खबरबाट साभार)


