दार्चुलाका स्थानीय बासिन्दा मतदाता आएनन भोट हाल्न : कर्मचारी मतदाता कुरेर बस्न बाध्य

काठमाडौं । दार्चुलाका विभिन्न ठाउँमा स्थानीयले मतदान बहिष्कार गरेका छन् । अपिहिमाल र नौगाड गाउँपालिकाका स्थानीयले मतदानमा भाग लिएनन् ।

गौरीशंकर आधारभूत विद्यालय र दुधिला आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा अहिलेसम्म एक मत पनि खसेको पाइएन । निर्वाचनका लागि खटिएका कर्मचारी मतदाता कुरेर बसिरहेका छन् ।

अघिल्लो महिना स्थानीयले जति पटक मतदान गरे पनि सडक पूर्वाधार र खाद्यान्न आपूर्तिको माग पुरा नभएको भन्दै यसपटक मतदान नगर्ने संयुक्त घोषणा गरेका थिए । स्थानीयको घोषणापछि केही दिनअघि सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल मतदानको लागि कन्भिन्स गर्न हेलिकोप्टरमा त्यहाँ पुगे ।

जिल्ला प्रशासन कार्यालयले समेत निर्वाचनको संघारमा केही खाद्यन्नका सामाग्री पुर्याएर मतदानको वातावरण बनाउने प्रयास गरेको थियो । तर पनि स्थानीयले आफूहरुको माग दीर्घकालीन रुपमा पुरा नहुँदासम्म मतदान नगर्ने अडान लिएको बताइन्छ । दाङ र ओखलढुंगाको विभिन्न ठाउँमा पनि स्थानीयले मतदान बहिष्कार गरेका छन् ।