विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकद्वारा नयाँ निर्देशिका जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले भन्सार घोषणा बिना ल्याउन सकिने र सोभन्दा बढी रकम भित्र्याउँदा वा बाहिर लैजाँदा अनिवार्य रूपमा घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गरि नेपाली वा विदेशी नागरिकले नगद अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबर अन्य विदेशी मुद्रा सहज रूपमा नेपालमा ल्याउन वा लैजानसक्ने व्यवस्थालाई स्पष्ट पारेको जनाएको छ । भारतीय रुपैयाँ समेत समावेश हुने उल्लेख गरिएको छ।
अमेरिकी डलर पाँच हजार बराबरको भारतीय रुपैयाँ भन्सार घोषणा नगरी ल्याउन सकिने व्यवस्था समेत गरेको राष्ट्र बैकले गरेको छ। तर यसभन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भने भन्सार कार्यालयमा खुलाउनै पर्ने र प्रमाणित गराउनु पर्ने राष्ट्र बैंकले व्यवस्था गरेको जनाएको छ।
राष्ट्र बैंकले यो व्यवस्था विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ५ र १२ र सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ्ग निवारण ऐन, २०६४ को दफा २९ को क को आधारमा कायम गरिएको समेत जनाएको छ । भारतीय रुपैयाँको प्रयोगसम्बन्धी प्रतिबन्धहरूबारे समेत राष्ट्र बैंकले सचेत गराएको छ। राजपत्रमा उल्लेख भएअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ पाँचसय र एकहजारका नोट नेपालमा कारोबारका लागि प्रयोग गर्न पाइँदैन।
त्यस्तै, भारतीय रुपैयाँ दुईसय, पाँच सय र २ हजार दरका नोट समेत नेपाल भित्र्याउन, साथमा राख्न वा कारोबार गर्न निषेध गरिएको व्यवस्था रहेको छ। राष्ट्र बैंकले यसबारेमा सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ। नेपालभित्र भारतीय रुपैयाँ २००, ५०० र २ हजारका नोट साथमा राख्ने, ओसारपसार गर्ने वा कारोबार गर्ने कार्य कानून विपरीत हुने समेत राष्ट्र र्बैकले जनाएको छ । नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ ल्याउन समेत प्रतिबन्ध कायम रहेको बैंकले स्पष्ट पारेको छ।


