काँग्रेसले क्रियाशील सदस्यताको विषय तत्काल टुंग्याउने गरी काम गर्न परिपत्र जारी

काठमाडौं । नेपाली कांग्रेसले पुस २६ देखि २८ सम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराउँदै सदस्यताको विषयमा केन्द्रित हुन जिल्ला सभापतिहरूलाई परिपत्र गरेको छ । पार्टीको क्रियाशील सदस्यताको विषय तत्काल टुंग्याउनेगरी काम गर्न परिपत्र गरिएको महामन्त्री गगन थापाले बताउनु् भएको छ । परिपत्रमा क्रियाशील सदस्यता नवीकरण नभएका र विवरण पठाउन बाँकी रहेका जिल्लाले अविलम्ब तहगत समन्वय गरी नवीकरण विवरण संकलन गरी वडादेखि जिल्ला कार्यसमितिको बैठकको निर्णय सहित नवीकरणको सूचीको अन्तिम नामावली र केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्कसहित कार्यतालिकामा तोकिएको मिति भित्रै केन्द्रमा पठाइसक्न निर्देशन दिएको बताइएको छ ।

निर्धारित मितिभित्र नवीकरणको सूची केन्द्रमा पठाएपश्चात् कुनै पनि कारणबाट नवीकरण सदस्यता छुट हुन गएमा त्यस्ता छुट भएका व्यक्तिहरूको छुट्टै नामावली तयार गरी सोको निर्णयसहित पुस ३ गतेभित्रमा अनिवार्य केन्द्रमा पठाउनुपर्ने उल्लेख छ। पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा विधान बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै पठाउन निर्णय गरेकोले सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सदस्यता फारम पठाइएको परिपत्रमा उल्लेख छ। एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले पौष १० गते भित्र र दुई भन्दा बढी निर्वाचन क्षेत्र भएकाले जिल्लाले पौष ११ गते सम्पूर्ण प्रक्रिया पुरा गरी नामावली प्रकाशन गरी केन्द्रमा पठाउनु पर्नेछ । १५ औँ महाधिवेशनको कार्यतालिका बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गर्नका लागि आफ्ना मातहतका समितिहरूलाई आवश्यक समन्वय र सहयोग गर्नुहोला ।’