पशुपतिमा प्रहरीमाथि हातपात गर्ने मकवानपुरका श्रेष्ठ पक्राउ
काठमाडौं । महाशिवरात्रिका बेला पशुपतिनाथ मन्दिरमा प्रहरीमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन् । महाशिवरात्रि पर्वका बेला पशुपतिनाथ मन्दिरमा भिड नियन्त्रण गरिरहेका बेला प्रहरीमाथि हातपात गर्ने मकवानपुर घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरिएको हो । प्रहरी परिसर काठमाडौंले पक्राउ गरेका युवामाथि अनुसन्धान थालिएको बताएको छ ।
ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले ती व्यक्तिको पहिचान गर्न समेत सर्वसाधारणसँग सहयोग मागेको थियो । आफ्नो फेसबुक पेजमा सूचना र ती व्यक्तिको फोटो सार्वजनिक गर्दै पहिचानमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको थियो ।


