प्रधानमन्त्री बालेन्द्रको आदेशमा पर्यटन व्यवसायी कर्ण शाक्यको होटल ‘वाटर फ्रन्ट’मा डोजर

काठमाडौं । पर्यटन व्यवसायी कर्ण शाक्यको पोखरास्थित होटल ‘वाटर फ्रन्ट’मा बिहानै डोजर चलाइएको छ। ताल किनारको ६५ मिटरभित्र लगायत संरचना रहेको जनाउँदै प्रहरीले भत्काएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले स्थानीय महानगरपालिकासँग मिलेर अपरेसन सुरु गरेको बताएको छ । होटलका अन्य संरचना भने हालसम्म सुरक्षित छन् । कास्की प्रहरीले ताल किनारमा रहेका खपौंदी, सेदीलगायत क्षेत्रमा डोजर चलेको जनाएको छ ।

आगामी केही दिन पोखराको फेवाताललगायत विभिन्न क्षेत्रमा डोजर चलाइने बुझिएको छ । पोखरा महानगरपालिकाले ताल संरक्षण र सीमांकनको प्रगति प्रतिवेदन हालै प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको थियो।

उता पोखरा महानगरपालिका ले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन्। शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्।

डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ । फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्।