भारतबाट आउन छाड्यो प्याज, कालिमाटीको मूल्यसूचीबाट हट्यो

भदौ-०५

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याजको स्टक सकिएको छ । आयातित प्याज बिक्री भइसकेको र आयातकर्ताले अहिले भारतबाट प्याज नल्याउँदा स्टक सकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि कालीमाटी बजारमा आइसकेको छैन । यसअघि नै आयात भइसकेको प्याजको स्टक सकिएको हो । अब भने नयाँ मूल्यमा प्याज आयात गरी बजारमा आउने समितिले जनाएको छ । सोमबार कालीमाटीमा प्रतिकिलो ७५ देखि ८० रुपैयाँसम्म प्याजको कारोबार भएको थियो ।

भारतमा उत्पादन कम भएपछि मूल्य बढ्ने त्रासले भारतको वित्त मन्त्रालयले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको छ । डिसेम्बर ३१ सम्म लागू हुनेगरी यो कर लगाइएको हो । यो करका कारण अब आयात हुने प्याजको मूल्य बढ्नेछ । यद्यपि कतिपय व्यापारीले प्याजमा कालोबजारी गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार अनुगमन समेत गरेको थियो । अनुगमनका क्रममा ५ व्यापारीलाई कारबाहीस्वरुप जरिवाना तिराइएको थियो ।

सबैजसो तरकारी तथा फलफूलको दैनिक मूल्य सूची सार्वजनिक गर्दै आएको समितिले मंगलबार प्याजको मूल्य पनि तोकेको छैन । ‘प्याजको स्टक सकिएको छ, त्यसकारण मंगलबार प्याजको मूल्य नतोकिएको हो, मूल्य नतोकिएपछि सूचीमा राखिएन’ श्रेष्ठले भने ।