प्रेम सम्बन्धका कारण सर्राफको हत्या,छ जना पक्राउ
गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको आज हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको छ ।
पसहा खोलमा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्यापसनका पदाधिकारीले संस्थाको झण्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए । मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उनलाई श्रद्धाञ्जली अर्पण गर्न ठुलो सङ्ख्यामा शुभचिन्तकहरू कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उनको निवासमा पुगेका थिए ।
कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साह,माओवादी केन्द्रका युवा नेता मुकेश साह,कांग्रेसका युवा नेता लुकेश सिंहलगायत विभिन्न राजनीतिक दलका व्यक्ति नागरिक अगुवा,निजी तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, आफन्तजन,पत्रकार,सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उपमहानगरपालिका भित्रका शिक्षक तथा पेसागत विभिन्न सङ्घ–सङ्गठनहरूले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । बारा उद्योग वाणिज्य सङ्घले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गर्न आह्वान गरेको छ । सङ्घका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा आज साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा व्यापारीहरूसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ । एन प्याब्सनले पनि सोमबार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घण्टाभित्र वास्तविक अपराधी समात्न नसके चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।
गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए ।
कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले ती वटा गोली प्रहार हत्या गरेकाले जिल्लावासीमा त्रासको वातावरण छाएको छ । कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाइकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ ।


