काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध राष्ट्र निर्माणको पहिलो शर्त सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाह भएको बताउनुभएको छ। विहिबार संखुवासभाको मादी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवलाई सम्बोधन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र अनुसन्धानसँग जोडेर जीवनोपयोगी बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
उहाँले गाउँमा कृषि उद्यम, उत्पादन वृद्धि, रोजगारी सृजना, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकाससँगै शिक्षालाई उद्यमशीलतामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएको उल्लेख गर्दै पाठ्यक्रम र अध्यापन शैलीलाई आधुनिक, सीपमुखी र समयसापेक्ष बनाउनुपर्नेमा बल दिनुभयो। “कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरणतर्फ उन्मुख गर्ने शिक्षा आजको आवश्यकता हो,” उहाँको भनाइ थियो।
देश विकासका लागि स्वदेशमै सृजनशील जनशक्ति आवश्यक रहेको बताउँदै उहाँले युवालाई विदेश पलायन रोक्न गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। “श्रमको सम्मान गर्ने संस्कृतिसहित सीपमूलक शिक्षा अब ढिलाइ नगरी कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो। संविधानले दिलाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ठूलो बलिदान र संघर्षको उपलब्धि भएको उल्लेख गर्दै उहाँले यस व्यवस्थाले मुलुकलाई स्वतन्त्रता र विकासको राजमार्गतर्फ अघि बढाइरहेको बताउनुभएको छ ।