Prithvi Post

३ मंसिर २०८२, मंगलवार

काठमाडौं । जेनजी प्रदर्शनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट लुटपाट भएको ठूलो संख्याको गोली अझै नभेटिएको प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा हराएका र लुटिएका कारण ९८ हजार भन्दा धेरै धातुको गोली रेकर्डमा नभेटिएको डीआईजी नेतृत्वको आन्तरिक छानबिन समितिले रिपोर्टमा उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले आन्तरिक प्रतिवेदन आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाएको छ ।

काठमाडौं उपत्यकाबाट मात्रै करिब ६ सय राउण्ड गोली हराएको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । आन्दोलनकारीले डमी राउण्ड पनि लुटेर लगेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । आन्दोलनकारीलाई भगाउन प्रयोग गरिने ‘डमी राउण्ड’ २ हजार २ सय रेकर्डमा नभेटिएको हो । त्यस्तै, जेनजी आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट हराएको विवरण संकलन गरिएको छ । लुटपाट र मिसिङ हुँदा अश्रुग्याँस सेल २ हजार ८ सय वटा रेकर्डमा फेला परेको छैन । म्याग्जिन (गोली राख्ने भाँडो) १७ सय थान हराएको छ ।

जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउण्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउण्ड ४ हजार र २५ सय राउण्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । एकजना उच्च प्रहरी अधिकृतका अनुसार बानेश्वरसहित देशभर २५ सय राउण्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको छ । प्रदर्शनकारी भगाउन २५ सय भन्दा धेरै ब्ल्याङ्क राउन्ड फायर गरेको भेटिएको छ । ब्ल्याङ्क राउन्ड प्रहार गर्दा आवाज मात्र आउँछ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौं उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीको अन्तरिक प्रतिवेदनमा उल्लेख छ ।

जेनजी प्रदर्शनपछि स्थिति सामान्य भएसँगै प्रहरीले हराएका र लुटपाट भएका ३५ सय राउण्ड गोली बरामद गरेको छ । काठमाडौं उपत्यका र प्रदेशका युनिटहरुबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउण्ड गोली फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रदर्शन स्थलमा हराएको र युनिटहरुबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ । प्रदर्शनमा करिब १२ सय थान हतियार हराएको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । हराएको ७ सय ४७ थान हतियार भेटिएको प्रहरीले जनाएको छ भने ४५३ थान हतियार अझै नभेटिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0