Prithvi Post

३ मंसिर २०८२, मंगलवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच कतारको दोहामा शिष्टाचार भेटवार्ता भएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुग्नु भएका राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसबिच मङ्गलबार शिष्टाचार भेटवार्ता भएको हो ।

सो भेटका अवसरमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्र सङ्घका महासचिवले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र सङ्घसँग निकट रही काम गर्न नेपाल तयार रहेको बताउनु भएको छ । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको मात्रा सुनिश्चित गर्ने विश्वास लिएको बताउनु भएको छ ।

उहाँले कार्बन उत्सर्जन नगण्य रूपमा गरेपनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू असमानुपातिक र गम्भीर रूपमा भोगिरहेको बताउँदै हामी जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गरिएको बताउनु भएको छ । उहाँले सगरमाथा आधार शिविरको भ्रमणका क्रममा तपाईँले अवलोकन गर्नुभएजस्तै हाम्रा सेता हिमालहरू काला पहाडमा परिवर्तन भइरहेका छन्, यी हिमालहरू एसियाको पानीको स्रोत पनि हुन्, तर तीव्र गतिमा हिउँ पग्लँदै जाँदा समग्र पारिस्थितिक प्रणाली र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीविकोपार्जनमा जोखिम सिर्जना भइरहेको बताउनु भएको छ ।

उहाँले गरिबी निवारण, रोजगारी सिर्जना र सामाजिक समावेशिताको सुनिश्चितताजस्ता चुनौती सम्बोधन गर्नुपर्ने खाँचो रहेको भन्दै यो सम्मेलनले सामाजिक विकासप्रतिको विश्वव्यापी प्रतिबद्धतालाई पुनः दोहोर्‍याउने र दिगो विकास एजेन्डा २०३० को कार्यान्वयनलाई थप गति दिने बताउनु भएको छ । राष्ट्रपति पौडेलले सामाजिक विकास, समावेशीकरण र गरिबी निवारण नेपालका प्रमुख प्राथमिकताहरू हुन् भन्दै नेपालले गरिबी न्यूनीकरण, मानव विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको पहुँचजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनु भएको छ ।

सो अवसरमा संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार खेपिरहेका नेपालजस्ता मुलुकहरूका लागि जलवायु अनुकूलनका लागि विकसित देशहरूबाट सहयोग उपलब्ध गराउन राष्ट्र सङ्घ लागिरहेको बताउँदै कार्बन उत्सर्जन घटाउनेतर्फ पनि आफू लागिरहेको बताउनु भएको छ । उहाँले नेपालले मानव अधिकारका पक्षमा राम्रो गरिरहेको पनि बताए । उनले नेपालको पछिल्लो घटनाका सन्दर्भमा नेपालले आफ्नो समस्या आफैँ समाधान गर्न नेपालका संस्थाहरू सक्षम रहेकोमा राष्ट्र सङ्घ पूर्ण विश्वस्त रहेको बताउनु भएको छ । राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0