प्रभु बैङ्कका सिइओ शेरचन पक्राउ : कार्यवाहक सिइओको जिम्मेवारी लम्साललाई
काठमाडौँ । प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । बैङ्किङ कसुरको आरोपमा शेरचनलाई पक्राउ गरि अनुसन्धान भई रहेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिनुभएको छ । ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको आधारमा शेरचनलाई पक्राउ गरि सिआइबीले अनुसन्धान अगाडि बढाएको बताइएको छ।
सिआइबीले यसअघि गत कात्तिक २२ गते बैङ्कको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो। त्यसैगरी सिआइबीले गत कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का पूर्व सांसद देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। भट्टचनमाथि अनुसन्धानका क्रममा बैङ्कका सिइओ शेरचनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। भट्टचनविरुद्ध ९८ करोड ठगी गरेको आरोप लागेको छ। सो बैठकका सिइओ शेरचन पक्राउ परेपछि बैंकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वरिष्ठ अधिकारी निरज लम्साललाई दिएको बैकले जनाएको छ बैंकका सीईओसहित तीन कर्मचारी अनुसन्धानमा रहेकाले दैनिक कार्य सञ्चालन सहज बनाउन लम्साललाई कार्यवाहक सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यर्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटले २०८२ मंसिर १४ गते प्रकाशित विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीहरु अनुसन्धान प्रक्रियामा रहेकाले बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रूपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकका बरिष्ठतम् कर्मचारी निरज लम्साललाई २०८२ मंसिर १४ गते देखि लागू हुने गरी बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ। बैंकबाट सम्पादन हुने सबै किसिमका सेवाहरू सम्पूर्ण शाखा सञ्जालहरूबाट निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ, बैङ्कद्वारा जारी सूचनामा भनिएको छ ।


