कञ्चनपुरको मोहना–दैजी सडक निर्माणको ठेक्का सरकारद्वारा तोडियो
काठमाडौं । सरकारले कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडेको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरि सो कुराको जानकारी गराएको बताईएको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४ मा ठेक्का सम्झौता भएको थियो । २० किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ ।
निर्माण प्रगति ८२ प्रतिशत रहेको बताइएको छ । पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ । ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ । योजना कार्यालय धनगढीबाटगत १४ कात्तिकमा ठेक्का किन नतोड्ने रु भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो ।

निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्दो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ । ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ ।


