काभ्रेमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरि बिक्री : ठण्डिराज र केदारराज लगायत भूमाफिया सकृय

काठमाडौँ । अस्थीर सरकार र राजनीतिको मौका छोप्दै अहिले देशभर सरकारी सम्पत्तीलाई हड्प्नेदेखि व्यक्तीगतको नाममा दार्ता गर्ने कार्यले पुनः प्रथमिकता पाएको छ । स्थानीय केही व्यक्ती र सरकारी कर्मचारीको गोप्य साँठगाँठ गरेर सार्वजनिक जग्गालाई व्यक्तीगत रुपमा दर्ता गरेको पाइएको छ । यसरी सरकारी जग्गलाई व्यक्तीको नाममा दर्ता गर्नेमा काभ्रे जिल्ला समेत अग्रपक्तिमा पर्ने गरेको छ ।

प्राप्त विवरण अनुसार काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं.४ का स्थानियहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर करोडौ कुम्ल्याएको भन्दै भू–माफिया बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायमा उजुरी परेसंगै यो अबैधधन्दाको पोल बाहिर आएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको साविक मेथिनकोट गाउ विकास समिति वडा नं.२ हाल नमोबुद्ध नगरपालिका वडा नं.४ स्थित कित्ता नं. ३०४ को ११–११–२–० क्षेत्रफल भएको जग्गा व्यक्तिगत नाममा दर्ता गरी भू–माफियाहरुले करोडौ कुम्याएको ठहर सहित अख्तियारमा उजुरी परेको छ । सो अबैध कार्यमा भू–माफियाहरु ठण्डिराज उपाध्याय र केदारराज उपाध्यायले परापुर्वकालदेखि गौचरण कायम भएको र २०२१ सालको नापीमा जंगल कायम भएको काभ्रेपलाञ्चोक जिल्ला मेथिनकोट गाविस वडा नं.२ (हाल नमोबुद्ध नपा वडा नं.४ मा पर्ने) कित्ता नं. ३०४ को ११–११–२–० क्षेत्रफल भएको जग्गा व्यक्तिगत नाममा दर्ता गरी प्रति आना ७ लाखदेखि १० लाख रुपैयाँसम्ममा बेचबिखन गरि करोडौ कुम्याएको दाबी उजुरीमा गरिएको छ ।

परापुर्व कालदेखि गाइबस्तु चराउने गौचरनको रुपमा प्रयोग हुँदै सरकारी कायम भएको उक्त जग्गा छुट जग्गाको नाममा दर्ता गरेर बेचबिखन गर्ने कार्यमा ठण्डिराज उपाध्याय, केदारराज उपाध्याय, काभ्रेपलाञ्चोक जिल्लाका मालपोत प्रमुख, नापी प्रमुख र नमोबुद्ध नपा वडा नं.४ का वडाध्यक्ष अर्जुनबहादुर कार्कीको प्रत्यक्ष संलग्नता रहेको दाबी समेत अख्तियारमा परेको उजुरीमा गरिएको छ । यसैगरी, काभ्रेपलाञ्चोक जिल्लाकै साबिकको पाँचखाल गाउँ विकास समिति वडा नं ४ र ७ हालको पाँचखाल नगरपालिका वडा नं ३ र ६ को सिमानामा रहेको गौचरन, पानीघाट तथा मृत्यु संस्कारमा प्रयोग हुने जग्गालाई भू–माफियाले २०४८ सालमै दर्ता गराएको खुल्न आएको छ ।

मालपोतमा लेखापढीको काम गर्ने ऋषिराम दुलालको सेटिङमा उनकै ससुरा ढुण्डप्रसाद अधिकारीको नाममा सो जग्गा दर्ता भएको समेत बताइएको छ । अरनिको राजमार्गको माथिल्लो भागमा १६ रोपनी १० आना र तल्लो भागमा १४ रोपनी तीन आना दर्ता गरिएको आरोप समेत लगाइएको छ । दर्ता गरेलगत्तै अधिकारीले छोरी चन्द्रकुमारी दुलाललाई सडकभन्दा माथिल्लो भागको १६ रोपनी १० आना जग्गा पास गरेको समेत बताइएको छ ।

बाँकी १४ रोपनी तीन आनामध्ये, चार रोपनी जग्गा दर्ता सिफारिस गर्ने तत्कालीन प्रधानपञ्च ढुङ्गानाको ज्वाइँ नाता पर्ने ढकनारायण काफ्लेको नाममा पास गरेको देखिन्छ । त्यस्तै जग्गा दर्ता गराउने ढुण्डप्रसाद अधिकारीको छोरा दामोदर अधिकारीलाई १० रोपनी तीन आना जग्गा पास गरेको देखिन्छ । दर्ता भएको जग्गा विभिन्न समयमा किनबेच हुँदै पछिल्लो पटक सिलसिला ट्रेडर्सको नाममा जग्गा आयो । त्यसपछि उसले सिन्धु विकास बैङ्कसँग ऋण लिएको थियो ।

सिलसिला ट्रेडर्सले सो जग्गामा २०३५ सालदेखि बस्दै आएका पाँच घर सुकुम्बासीलाई हटाउन क्षतिपूर्तिसमेत दिएको थियो । सिलसिलाले पाँच परिवारमध्ये दुई परिवारलाई नौ लाख ५० हजार तथा अर्को परिवारले १० लाख रुपियाँ अर्को परिवारलाई एक लाख र अर्को परिवारलाई तीन लाख ६० हजार दिएको समेत बताइएको छ ।