प्रदेशमा एआईजी जिल्लामा एसएसपीको कमान्डमा निर्वाचन सुरुक्षा परिचालन
काठमाडौं । नेपाल प्रहरीले निर्वाचन सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गर्दै एआईजीहरूलाई प्रदेशको अनुगमनका निम्ति खटाएको छ । उनीहरूको अनुगमन प्रतिवेदनका आधारमा फागुन पहिलो सातादेखि जिल्लामा एसएसपी र केहीमा एसपीहरूलाई थप मद्दत टोलीका रुपमा खटाइने भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार आवश्यकताअनुसार परिस्थिति मूल्यांकन गरेर सूचना संकलन र खतरा विश्लेषणका आधारमा केही जिल्लामा एसएसपी र एसपी खटाउन लागिएको हो । तर, को कुन जिल्लामा पठाउने भन्ने कुरा तय भएको छैन ।
फागुनको पहिलो हप्तादेखि उक्त योजना लागू हुने भएको छ । त्यसअघि प्रहरी प्रधान कार्यालयमा रहेका एआईजीहरूलाई पालैपालो सातै प्रदेशको अनुगमन गर्न पठाउन थालिएको छ । त्यसक्रममा कोशी प्रदेशमा मानवस्रोत विसकास विभागमा कार्यरत एआईजी राजन अधिकारीले अनुगमन गरिसकेका छन् । अहिले प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डम्बरबहादुर विक मधेश प्रदेशको समग्र सुरक्षास्थिति अनुगमनका निम्ति खटिएका छन् ।
एआईजीहरूको अनुगमन र सम्बन्धित प्रदेशका डीआईजीहरूको सिफारिसका आधारमा प्रहरी प्रधान कार्यालयले आवश्यक जिल्लामा थप टोली पठाउने भएको हो । प्रवक्ता काफ्लेका अनुसार नेपाल प्रहरीले हालसम्म झापा र सर्लाही जिल्लालाई उच्च सुरक्षा चुनौतीयुक्त जिल्लाका रुपमा विश्लेषण गरेको छ । त्यसबाहेक अन्य जिल्लामा पनि उम्मेदवारको स्थिति र विगत निर्वाचनका घटनाका आधारमा संवेदनशील जिल्ला तोकिने तथा त्यसअनुसार प्रहरी जनशक्ति खटाइने भएको छ ।
यद्यपि, जिल्लास्थित प्रहरी प्रमुखको रहेका एसपी र डीएसपीहरूको जिम्मेवारी यथावत रहने छन् । ‘जिल्लाको एसपी, डीएसपी सा’बहरूले नियमित काम गर्नुहुन्छ, थप टोलीमा जाने एसएसपी र एसपी सा’बहरूले निर्वाचन सुरक्षामा केन्द्रित भएर तोकिएका काममात्रै गर्नुहुन्छ’, काफ्लेले भने । अहिले नेपाल प्रहरीका प्रत्येक प्रदेशमा कम्तीमा ३ जनाका दरले एसएसपी कार्यरत छन् । एकजना प्रदेश प्रहरी कार्यालयमा, एकजना सम्बन्धित प्रदेशको तालिम केन्द्रमा र अर्का एकजना नेपाल प्रहरी प्रदेश कार्यालयमा छन् ।
ती एसएसपीलाई सम्बन्धित प्रदेशअन्तर्गतका जिल्लामा खटाइने भएको छ । उनीहरूमध्ये कसलाई कहाँ खटाउने भन्ने कुरा सम्बन्धित प्रदेशका डीआईजीको अधिकार क्षेत्रमा पर्छ । ती डीआईजीहरूले प्रधान कार्यालयसँग समन्वय गरेर अन्य एसएसपी र एसपी चाहिएमा त्यसअनुसार जनशक्ति उपलब्ध गराइने प्रवक्ता काफ्लेले बताए ।
थप टोलीमा पठाइने कमाण्डरले उम्मेदवारको सुरक्षा, मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन एवं सुरक्षा, सीसीटीभी जडानको अवस्था, आवश्यक परे थप मद्दत टोली झिकाउने, उम्मेदवार, राजनीतिक दल र प्रहरीबीच समन्वय गर्नेजस्ता काम गर्छन् ।


