भक्तपुर क्षेत्रको विकास गर्न आफू प्रतिबद्ध रहेको छु : एमाले उम्मेदबार महेश बस्नेत

काठमाडौँ । यो निर्वाचनमा देशभर कसले जित्छ, को बलियो छ, त्यहाँचाहिँ के होला भन्नेमध्ये भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ अगाडि नै आउँछ । यहाँका उम्मेदवारमध्ये नेकपा एमालेका सचिव महेश बलिया मानिन्छन् । यो त्यस्तो क्षेत्र हो, जहाँका मतदातासँगै बाहिरकाले पनि निकै चासोका साथ हेरेका छन् । यस क्षेत्रमा मानिसहरूका आ–आफ्नै अड्कालबाजी छन् । यहाँका उम्मेदवारप्रति आम जनताको चासो र चर्चा उत्तिकै छ । यहाँ पनि विभिन्न दलबाट उम्मेदवार बनेकाहरूको घरदैलो चलिरहेको छ ।

बुधबार बिहान करिब ७ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ गणेश मन्दिरमा एमालेका कार्यकर्ताहरू भेला भएका थिए । घरदैलोको तयारी हुँदै थियो । हामी पनि त्यही थियौँ । मतदाता घरको कौसी र छतबाट हात हल्लाइरहेका थिए, तल थियो एमालेको चुनावी घरदैलो । उम्मेदवार बस्नेत दोस्रो पटक जित निकाल्न यसपटक पनि कस्सिएर लागिपरेका थिए । एकैछिनमा बस्नेत आइपुग्छन् र खादामाला र टीका लगाएपछि उनको टोली अघि बढ्छ ।  गणेश मन्दिरबाट सुरु भएको उनको घरदैलो मतदातासँगको भेटभन्दा पनि सडकबाटै नमस्कारमा बढी केन्द्रित थियो ।

टोली परिवर्तन टोलमा पुग्छ, त्यहाँ बस्नेतलाई सूर्य चुनाव चिह्नसहित स्वागत हुन्छ । खादामालासँगै र दही खुवाएका मतदाताले उनलाई यस क्षेत्रमा विकासको बाढी ल्याउन आग्रह गर्छन् । बस्नेत पनि भोट दिएर जिताउन आग्रह गर्छन् । यो क्षेत्रको आवश्यक विकास गर्न आफू प्रतिबद्ध रहेको बताउँछन् ।उत्साहित कार्यकर्ता ‘भक्तपुरले खोजेको, जनताले रोजेको’ भन्दै समय–समयमा नारा लगाउँथेँ । पार्टीको गीत घन्किरहन्छन् । घरदैलो सिपाडोल टोलमा प्रवेश गर्छ । त्यहाँ बस्नेतलाई स्वागत गर्न मतदाताहरू लाइन लागेर बसेका थिए ।

एक वृद्धाले खादामाला लगाएर उनलाई अँगालो हाल्दै ‘बाँचेर आयौ बाबु’ भन्दै अँगालो हाल्छिन् । आँसु झाँर्दै उनले ‘बाबु जित्नुपर्छ, हामी तपाईंलाई भोट दिन्छौँ,’ भन्छिन् । बस्नेतको टोली केहीबेर मौन हुन्छ । बस्नेतलाई यहाँ स्वागत गर्ने अधिकांशले भदौ २४ गते उनको घर जलेको भन्दै ढाडस दिइरहन्छन् । माया देखाइरहन्छन् । तिनै भिडमा ६० वर्षीया वृद्धाले पनि बस्नेतलाई अँगालो हाल्दै आशीर्वाद दिइन् । जितको शुभकामना दिँदै उनको घर जलेकोमा सदभाव देखाइन् । र बस्नेत पनि भन्छन्, ‘चिन्ता नगर्नुस् आमा, हामी फेरि उठ्नेछौँ ।

हजुरहरूले भोट दिएर जिताउनुस् ।’घरदैलो डोल गाउँमा प्रवेश गर्छ । बस्नेत भोट माग्दै ९१ वर्षीय वृद्ध भएको ठाउँमा जान्छन् । उनलाई देख्नेबित्तिकै ती वृद्ध आँसु झार्छन् । भन्छन्, ‘आन्दोलनमा तपाईंको घर जलाए बाबु । तपाईंले भक्तपुरको सडक, पुल बनाउनुभएको छ, सम्पदाको निर्माण र संरक्षण गर्नुभएको छ । गरेको प्रतिफल पाउनुहुन्छ । जित निश्चित छ ।’ हामीले यहाँ एक जना ८१ वर्षका वृद्धलाई सोध्यौँ, ‘महेश बस्नेतलाई भोट माग्न आउनुभएको रु उनले भने, ‘मलाई बस्नेत राम्रो लाग्छ, त्यसैले सूर्य चिह्नमा भोट दिन्छौँ ।’

उनी त्यतिमा मात्र रोकिएनन्, ‘महेश बस्नेत भक्तपुरका विकासप्रेमी नेता हुन् । उनले सडक, पुल, सम्पदा विकास गरेका छन् । निडर छन् ।’ घरदैलोमा बस्नेतले केही मतदाताले प्रश्न पनि गर्छन् । यसै क्रममा एक महिलाले सोधिन्, ‘चुनावको समयमा मात्रै होला, चुनाव जितेर आउने होइन होला रु पहिला जितेका अहिलेसम्म टोलमा आएनन् ।’ उनले भक्तपुर सुर्यविनायक–८ मा खानेपानी, सडकमा देखिएको समस्या समाधान गर्न माग गरिन् । बस्नेत सबै समस्या समाधान गर्न आफू तयार भएको बताउँदै बढ्छन् ।

त्यसै ठाउँमा हामीले एक युवा मतदातालाई सोध्यौँ, ‘बस्नेतलाई तपाईंको केही प्रश्न, अपेक्षा छन् रु उनले नेताहरूलाई जनताका प्रश्न धेरै भएको बताए । ‘उनलाई पनि धेरै प्रश्न छन् । तर प्रश्नका बिचमा पनि भक्तपुर–२ मा बस्नेतको आवश्यकता छ । सबैले मत दिएर भक्तपुर–२ मा देखिएको बाढी, ढल, खानेपानी, समस्या हटाएर कृषिमा रोजगारी सिर्जना गर्न आवश्यक छ,’ उनले भने ।उम्मेदवार बस्नेतले घरदैलोका क्रममा भक्तपुरबासीले आफूप्रति देखाएको सद्भाव आफ्नो जितको बलियो आधार भएको बताए ।

भक्तपुरको विकासमा आफू पदमा हुँदा वा नहुँदा पनि निरन्तर रूपमा लागेकाले पनि जित निश्चित रहेको उनले दाबी गरे । ‘जिम्मेवारी नहुँदा पनि भक्तपुरको विकासमा निरन्तर लागेको छु । सेवक बन्न मतदातामाझमा गएको छु, विकासको काम गरेको आधारमा पनि भक्तपुरका जनताले मत दिएर जिताउँछन् भन्ने विश्वास छ,’ उनी प्रतिबद्ध देखिए ।

जनताले खानेपानी, ढल, सडक कालोपत्रलगायत माग गरेको बताउँदै आफू त्यो काम गर्न सक्षम भएको दाबी गरे । यस पटकको निर्वाचनमा बस्नेतसँगै नेपाली कांग्रेसबाट पत्रकार कविर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार राजीव खत्री र नेपाली कम्युनिस्ट पार्टीका रामप्रसाद सापकोटा  र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैसी प्रतिस्पर्धामा छन् ।