बैंकहरूले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम लिए गुनासो दर्ता गर्न राष्ट्र बैंकको आग्रह

साउन ३०,-भक्तपुर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम लिए गुनासो दर्ता गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सम्पूर्ण सेवा स्वयम् आफैँले निर्माण गरी उपलब्ध गराउन सम्भव नहुने हुनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई त्यस्ता विशिष्टिकृत सेवा उपलब्ध गराउने गरेका छन्।

यसरी अन्य संस्थाबाट प्राप्त हुने सेवा आफ्ना ग्राहकलाई उपलब्ध गराएबापत शुल्क लिनुपर्ने भए त्यस्ता संस्थालाई भुक्तानी गर्नुपर्ने लागतभन्दा बढी नहुनेगरी मात्र ग्राहकसँग सेवा शुल्क लिन सकिने व्यवस्था छ ।

यदि कुनै बैंक तथा वित्तीय संस्थाले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी शुल्क ग्राहकसँग असुल गरेको पाइएमा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिनेछ ।

त्यस्तै, केही आधारभूत सेवामा भने नेपाल राष्ट्र बैंकले कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरेको राष्ट्र बैंकले स्मरण गराएकाे छ ।