होटल अन्नपूर्णको सेयर हडपी किर्ते कागजात मार्फत अर्बौंको सम्पत्ति अनेत्र सारियो
काठमाडौं । दरबारमार्गस्थित होटल अन्नपूर्ण प्रकरण अब केवल कर छलीको मुद्दामा सीमित नरहने संकेत देखिएको छ । अनुसन्धानसँग जानकार स्रोतहरूका अनुसार स्व. हेलेन शाहको नाममा रहेको होटल अन्नपूर्णको २०,६२७ कित्ता सेयर किर्ते कागजात, शंकास्पद हस्ताक्षर र अपारदर्शी प्रक्रियामार्फत सिर्जना राणाको नाममा सारिएको संकेत मिलेको हो । सोही कारण राजस्व अनुसन्धान विभागले यो फाइल थप आपराधिक अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पठाउने तयारी गरेको छ ।
यस प्रकरणमा सबैभन्दा गम्भीर प्रश्न कागजातकै विश्वसनीयतामाथि उठेको छ । उपलब्ध नेपाली लिखतमा स्व। हेलेन शाहले आफ्नो सेयर ‘बकसपत्र’ मार्फत सिर्जना राणालाई दिने आशय लेखिएको देखिन्छ । तर उक्त कागजातको माथिल्लो भागमा देखिएको हस्ताक्षर र अन्तिम भागमा रहेको हस्ताक्षरबीच स्पष्ट अन्तर देखिने भएकाले अनुसन्धानकर्ताहरूले यसलाई सामान्य कागजी त्रुटि नभई सम्भावित किर्तेको रूपमा हेरेका छन् ।
यससँगै अर्को अंग्रेजी कागजातमा होटल डेला अन्नपूर्ण प्रालिको २८ सेप्टेम्बर २००७ मा बसेको १०३ औँ बोर्ड बैठकको माइनुटमा स्व. हेलेन शाहले २०६३/११/११ मा उपहार दिएको उल्लेख गर्दै २०,६२७ कित्ता सेयर सिर्जना राणाको नाममा सार्ने निर्णय भएको देखिन्छ । कागजातमा कम्पनी सचिवले पेस गरेका कागज पर्याप्त रहेको भन्दै नयाँ प्रमाणपत्र जारी गर्ने निर्णय उल्लेख भए पनि यस्तो ठूलो सम्पत्ति हस्तान्तरणमा आधारभूत कानुनी प्रक्रिया पूरा भएको देखिने स्पष्ट प्रमाण नदेखिएको स्रोतको भनाइ छ ।
अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार प्रश्न केवल यति मात्र होइन कि सेयर सारियो कि सारिएन रु, स्व। हेलेन शाहले साँच्चै यति ठूलो मूल्यको सेयर उपहार वा इच्छापत्रबाट दिन चाहेकी थिइन् कि थिइनन् रु, यदि चाहेकी थिइन् भने त्यसको विधिसम्मत दर्ता, प्रमाणीकरण र हकवालासँग सम्बन्धित प्रक्रिया किन देखिँदैन रु, यदि प्रक्रिया थिएन भने त्यसपछि कम्पनीका अभिलेखहरू कसरी परिवर्तन भए रु जस्ता प्रश्नले प्रकरणलाई सामान्य कर विवादबाट सम्भावित संगठित आर्थिक अपराधतर्फ धकेलेको छ ।
स्रोतहरूका अनुसार करिब ५० देखि ६० करोडबराबर हुनसक्ने सम्पत्ति वा सेयर कसैलाई ‘गिफ्ट’का रूपमा हस्तान्तरण हुँदा आवश्यक कानुनी औपचारिकता पूरा हुनुपर्ने हुन्छ । तर उपलब्ध अभिलेखमा मालपोत, वडा वा अन्य सक्षम निकायमा आवश्यक दर्ता र प्रमाणीकरण भएको स्पष्ट आधार नदेखिएकाले अनुसन्धानकर्ताहरूले यसलाई योजनाबद्ध रूपमा तयार गरिएको कागजी सेटअप हुनसक्ने कोणबाट पनि अध्ययन गरिरहेका छन् ।
अर्को गम्भीर पक्ष वास्तविक कानुनी हकवालाको सम्भावित बेवास्ता हो । यति ठूलो सम्पत्ति हस्तान्तरण हुँदा वैध उत्तराधिकारी, परिवारजन वा सम्बन्धित पक्षहरूको जानकारी, दाबी वा सहमति के थियो भन्ने प्रश्न अनुसन्धानको संवेदनशील केन्द्र बनेको छ । यदि वास्तविक हकदारहरूको अधिकार छल्दै कागजात खडा गरेर सेयर सारिएको हो भने यो केवल कर छली नभई सम्पत्ति हडप्ने आपराधिक षड्यन्त्रको रूपमा समेत व्याख्या हुन सक्ने कानुनी वृत्तको बुझाइ छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ।
राजस्व अनुसन्धान विभागले यसअघि नै होटल अन्नपूर्ण प्रकरणमा न्यून मूल्यमा सेयर बिक्री, पुँजीगत लाभकर छली, उपहार कर नतिरेको अवस्था, विदेशी मुद्रा दुरुपयोग तथा बैंकिङ कारोबारसम्बन्धी अभिलेख अध्ययन गरिरहेको छ । प्रारम्भिक अनुमानअनुसार यो प्रकरणबाट कर, ब्याज र जरिबाना जोडेर करिब १२ अर्बसम्म असुली हुनसक्ने आकलन सार्वजनिक भइसकेको छ । अब त्यसमा किर्ते कागजात र जालसाजीको पक्ष थपिएपछि प्रकरणको गम्भीरता झनै बढेको छ ।
स्रोतका अनुसार यदि कागजातहरू नक्कली, हस्ताक्षरहरू अस्वाभाविक, वा कम्पनी अभिलेख परिवर्तन गैरकानुनी तरिकाले गरिएको पुष्टि भयो भने कपिल राणा र सिर्जना राणासहित संलग्न देखिएका अन्य व्यक्तिहरूविरुद्ध किर्ते, जालसाजी, झुटा कागजात प्रयोग, कर छली तथा अन्य सम्बन्धित आर्थिक अपराधमा कारबाही अघि बढ्न सक्छ ।
त्यस अवस्थामा यो मुद्दा कर प्रशासनको दायराबाट निस्केर सिधा फौजदारी जोखिममा पुग्नेछ । प्रशासनिक वृत्तमा अहिले एउटा प्रश्न तीव्ररूपमा उठिरहेको छ, यदि यो सम्पूर्ण प्रक्रिया वैध थियो भने यति धेरै वर्षसम्म कागजातहरू किन विवादमुक्त रूपमा टिकेनन् ?
किन हस्ताक्षर फरक देखिन्छ रु किन अभिलेखीय शुद्धता र कानुनी प्रक्रिया स्पष्ट छैन रु र किन अब गएर अनुसन्धान निकायहरू आपराधिक कोणमा केन्द्रित भइरहेका छन् ? यिनै प्रश्नले होटल अन्नपूर्ण प्रकरणलाई नेपालकै चर्चित आर्थिक–आपराधिक अनुसन्धानमध्ये एक बनाएको छ ।
यद्यपि कसैलाई दोषी ठहर गर्ने अन्तिम अधिकार अदालतलाई मात्र हुन्छ । तर उपलब्ध कागजात, उठेका शंका, अभिलेखीय असंगति र अनुसन्धानको बढ्दो दायरा हेर्दा होटल अन्नपूर्ण प्रकरण अब नेपालको उच्चस्तरीय आर्थिक, कर तथा सम्भावित आपराधिक शक्ति–सञ्जालको परीक्षण बन्ने अवस्थामा पुगेको देखिन्छ ।


