जग्गा हडप्न नक्कली आमा

भदौ-०९,भक्तपुर

आमा पनि नक्कली बनाइन्छ भन्ने सुन्दा अचम्म लाग्छ । तर मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिले नक्कली आमा बनाएर अर्कैका नामको जग्गा आफ्नो नाममा हत्याएका छन् ।

यस घटनामा कीर्तिपुर र थाहा नगरपालिकाका जनप्रतिनिधिको पनि संलग्नता रहेको छ । जग्गामा रकम हाल्ने भारतीय नागरिकको जाहेरीपछि मात्र यो घटना सार्वजनिक भएको हो । प्रहरीले दुई जना वडाध्यक्षसहित २१ जनाविरुद्ध गत साउन २८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

घटना विवरण अनुसार कीर्तिपुरको महँगो जग्गा हात पार्न थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा खडा गराएर सबै प्रक्रिया पूरा गरेका थिए । यस कार्यमा मकवानपुरको थाहा नगरपालिका–१२ का वडाध्यक्ष टीकाराम स्याङ्तान र कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष नरेश महर्जनको सहयोग रहेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित ट्याङ्लाफाँटको कित्ता नम्बर २०३ को ९९२ वर्गमिटर अर्थात् एक रोपनी १५ आना जग्गा गुरुङले आफ्नो नाममा गरेको भेटिएको हो।

भारतीय नागरिक एमसी परेराले उक्त जग्गा किनेर राखेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार भारतीय नागरिक परेराले श्रीमती बनाएका उमादेवी गुरुङको नाममा जग्गा किन्नुभएको थियो । उनीहरूका सन्तान थिएनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।