लघुकथा : आडम्बरी तिज

कल्पना भण्डारी 

निरुलाई तिजमा भाइ लिन आए । खुसी हुँदै भनिन् “भाइ तँ मलाई लिन आएछस् ,भिनाजुले बिदा दिनुहुन्छ हुन्न थाहा छैन ।” म सकेसम्म आउँछु ।” निरुले भाइलाई आश्वस्त पारेर पठाइन् र पतिलाई मनाएर माइत हिँडिन् ।

निरु माइतीघर पुग्नासाथ सबै खुसी भए । निरुले दिदीबहिनी सबैलाई एकनासकाे सारी किनेर लगेकी रहिछन् । सबैजना दर खाएर भाेलिपल्ट सबै नाचगान  र रमाइले गरे । भोलिपल्ट सबै दिदीबहिनी आआफ्ना घर जान लागे । निरुलाई आमा र छिमेकी  दिदीबहिनीहरू कसैले पिठाे कसैले निगुरो, भटमास, दही र घिउ काेसेली दिएर पठाए ।

निरुकी बहिनी कान्छीले भनिन् “निरु दिदीलाई सबैले काेसेली घरमा पुर्‍याउन आए तर माहिली दिदीलाई त कसैले केही दिएनन्, किन हाेला आमा ?” आमाले भन्नुभयो-“निरु छाेरी वर्षदिनमा मात्रै आउँछिन् । सबैलाई सामान ल्याउँछिन् त्यसैले हाे छाेरी ।” कान्छीले फेरि भनिन् “आमा ! माहिली दिदीलाई लिन पनि जानुभएन । फाेनकाे भरमा आउनुभयाे र पनि काेसेली पनि कसैले दिएन तर निरु दिदीलाई त लिन पनि जानुभयाे । काेसेली पनि अरुले यहीँ पुर्‍याउन आए । हजुरले पनि दिदीलाई धेरै सामान ठिक पार्नुभयाे । धनी छोरी र गरिब छोरीमा आमाबाट पनि यत्रो भेदभाव र पक्षपात ? हजुरका लागि सबै सन्तान बराबरी होइनौँ त? भाेलि माहिली दिदी पनि धनी हुने दिन आउँछ ।” आमा केही बोल्न सकिनन् मात्रै टाउको हल्लाइन् । याे कुरा माहिली दिदीले सुनेर भनिन् “ठिक छ, कान्छी म ऋण गरेर अरुलाई दिन र देखाउन पनि सक्दिन। सादा जीवन र उच्च विचारमा आस्था राख्ने मान्छे हुँ, भइगो छोड्दे बहिनी ।”

निरु आाँतिदै बाहिर आइन् भनिन् “म बर्बाद भएँ ।” के भयाे भन्दै बहिनीहरुले साेधे । “मेराे त सिक्री हरायाे,मैले मागेर लगाएकी थिएँ अब म कसरी बुझाऊँ?” भन्दै उफ्रिन थालिन। निरुका बहिनीहरू मुख हेराहेर गर्न लागे ।

सिन्धुपाल्चोक जिल्ला
हाल काठमाडौँ