नेपाली र विदेशी कलाकारहरुवीच अनुभब आदानप्रदान

भक्तपुर । मुलुक विदेशबाट खाद्यान्नदेखि अधिकांश सामानहरु ल्याउने अनि उपभोग गर्ने परनिर्भतातिर अगाडि वढ्दै गएको भन्दै युवा कलाकर्मी कैलाश के श्रेष्ठ चिन्तित छन् । आफनै देशमा बनेको उत्पादनको बजार विस्तार नीति नबनाइएपछि बजार नपाउनु, बजार नपाएपछि आर्थिक उपार्जन नहुनु र अर्थाेपार्जन नभएपछि कला मरेको देखेर उनलाई असाध्यै दुःख पनि लागेको छ । यही कारण नै देशबाट दिन प्रतिदिन बैदेशिक रोजगारीका लागि युवाहरु विदेश जानु मुख्य कारण लाग्छ उनलाई । यही कारणले नै देश उन्नतितिर नभई अघोगतितिर लागेको उनको बुझाई छ ।
यही चिन्तालाई थोरै मात्रै भए पनि कम गर्न उनी लागिपरेको बताउँंछन् । उनी लागिपर्दाको पछिल्लो उदाहरण भएको बताउँछन्े, भक्तपुरमा भइरहेको सेरामिक्स कार्यशाला । नेपाली माटोबाट बनेका सामानहरुमा कलाकारले कला बनाउने र त्यसलाई देशभरि मात्रै नभई, संसारभरि नै विकाउन सकून भन्ने इच्छाले कार्यशाला गोष्ठीका लागि संयोजन गरेको उनले बताए ।
कार्यक्रमका लागि अमेरिकाबाट प्रख्यात दुई कलाकार दम्पती मार्क नाफजिगर र जोइस नाफजिगर अहिले भक्तपुरमा छन् । कार्यक्रम सुरु भएको दिन अक्टोबर २२ देखि उनीहरु दैनिक भक्तपुरमै नेपाली कलाकर्मीहरुसँंगै छन् ।
अमेरिकी आर्ट्स एन्भोय कार्यक्रम अन्तर्गत नोभेम्बर १८ देखि २२ सम्म आयोजना भइरहेको पाँच–दिने माटोको हस्तकला र सिरेमिक कला कार्यशालामा उनीहरु नेपाली कलाकर्मीहरुसँंग छलफल, अनुभब आदानप्रदानमा छन् । यसका लागि देशभरिबाट १० प्रतिभाशाली महिला कलाकारहरूसँग भक्तपुरमा छन् । उनीहरु समूहमा मिलेर आआफनो सीपलाई निखार्ने, कलात्मक आवाजलाई सशक्त बनाउने, र आर्थिक तथा उद्यमशीलताका नयाँ अवसरहरूको खोजी गर्ने अवसर प्रदान गर्न भक्तपुरमा छलफलमा छन् ।
यस कार्यक्रमले प्रेरित गर्ने रचनात्मकता र प्रगतिका क्षणहरू हेर्न हामी आतुर छौं, अमेरिकी कलाकारको दम्पतीले बिहीबार नागरिकसँंग भने । अमेरिकी आर्ट्स एन्भोय कार्यक्रमअन्तर्गत, कलाकार मार्क नाफजिगर र नेपाली प्रतिभाशाली कलाकारहरूको समूहले भक्तपुरको प्रसिद्ध पोटरी स्क्वायरस्थित कल्चर क्याफे एण्ड बारमा बसेर घनीभूत छलफलमा छन् । कार्यशालामा दैनिक अमेरिकी कलाकार दम्पतीले आफनो देशको अनुभब सुनाउने र नेपालीहरुले नेपालको अनुभब सुनाउनुका साथै पोटरी स्क्वायरमा भइरहेको माटोको भाडा बनाउने कलाहरुको भ्रमण गरेर सिक्ने सिकाउने अवसर चलिरहेको छ ।
समूहले परम्परागत माटोको भाँडाकुँडा बनाउने प्रविधि र पकाउने प्रक्रिया नजिकबाट अनुभव गर्दै नेपालको माटोको भाँडाकुँडा परम्पराबारे व्यवहारिक ज्ञान हासिल गरिरहेका छन् । यस अनुभवले पुराना परम्पराहरू र आधुनिक कलाबीचको संयोजनबारे आवश्यक छलफलहरूको सुरुवात गरेको छ, कार्यक्रममा सहभागी टोलीका सदस्यहरुले भने, यो कार्यशालाको रचनात्मक यात्राको लागि एक उत्कृष्ट सुरुवात हो ।
नेपालमै बनेका यी नेपाली माटाका भाडाहरुलाई उत्कृष्ट कला दिंदै नेपालमा मात्रै नभई संसारभरि नै विक्री गराउन सकून भन्ने आशय उनीहरुको छ । तर विडम्वना कुमालेले पांग्रा घुमाएर माटोबाट बनाउने गाग्रो, घ्याम्पो, चिलिम, गमला, मकल, घैंटो, देवताहरूका मूर्ति आदिइत्यादि अहिले विस्तार विस्थापित हुँदैछन् । यसको ठाउँं लिंदैछ प्लाष्टिकका भाडाहरुले । प्लास्टिकका रङ्गीचङ्गी भाँडाबर्तन भित्रिए । भारत र चीनका भाँडावर्तन घरघर भित्रिए । ग्राहकका रुचि बदलिए । जीवनशैली फेरिए । माटाका भाँडाबर्तन प्रयोगमै आउन छाडे । अनि पूर्वजको पेशा छोडिदै गयो । यससँंगै नेपाली कलाकारहरुको कला पनि हराए, विलाए ।
सेरामिक्स प्रविधिमा पेन्टिङ, डेकोरेसन, ग्लेज राखेर पोल्ने जस्ता पद्धतिको निरन्तर ओरालो लागेकामा सहभागीहरु दुःख व्यक्त गर्छन् । उनीहरुले भने– “मस्तिष्कमा सृजना छ, हातमा सफाइ छ । धर्तीमा माटो छ । तर प्रवीणता दिने ज्ञानको खाँचो छ । व्यावसायिकता र उद्यमको कमी छ । यही कारण हामी समूहमा छलफलमा छौं ।
कार्यक्रम अन्तर्गत आठ सयदेखि एक हजार दुई सय ५० डिग्री सेल्सियस तापक्रममा माटोको भाडाहरु बोलिरहेका छन् उनीहरु । कमसल खालका माटोका वस्तु (अर्थनवेयर) ११ सय डिग्री भन्दा तलको तापक्रममा नै उत्पादन हुन्छन् उनीहरुका अनुसार । तर १३ सय डिग्री वा सोभन्दा माथिको तापक्रममा उत्पादन हुने वस्तुलाई (स्टोनवेयर) जुन निकै कडा हुने गर्दछन् ।
परम्परागत विधिबाट फूल रोप्ने गमला, हाँडी, घैंटो, बत्ती बाल्ने पाला लगायत बन्थे भने आधुनिक शैलीमा माटोका कप, गिलास, चियादानी र सजावटका वस्तुहरु उत्पादन गरे उनीहरुले । विशेषतः माटोलाई पोलेर विभिन्न प्रकारले कलाको रूप दिइरहेका छन् । एकपटक पोलिसकेपछि पनि पुनः पोलेर आफूले खोजेको रङ, इफेक्ट, टेक्चर, चमक ल्याउन अनेक प्रयोग गरिरहेका छन् उनीहरु । यसैलाई पोटरी, टेराकोटा, सेरामिक्स कला आदि नामले पुकारिन्छ । यही समूहले बनाएको माटोको भाडाहरुलाई भक्तपुरकै पोटरी स्वायरमा कार्यशालाको अन्तिम दिन शुक्रबार प्रदर्शन गरिंदैछ । दिउँंसो दुई बजेदेखि तीन बजेसम्म प्रदर्शनी हुने जनाइएको छ ।
सेरामिक्स आर्ट (माटोको कला) सम्भवतः मानव सभ्यताकै प्राचीन कला हो । नेपालको तराई, मधेश र काठमाडौं उपत्यकामा सबैतिर माटो कलाको रैथाने सीप, ज्ञान र प्रविधि छ । इसापूर्व तेस्रो शताब्दीका सम्राट अशोकले स्थापना गरेको स्तम्भ कला पनि माटोकै थियो । तर यही सेरामिक्स आर्ट गर्न थ्रीडी अर्थात् डेन्जर, डर्टी, डिफिकल्टलाई सामना गर्नुपरिरहेको छ । यही कलामा युवाहरु विकर्षित भइरहेका छन् ।