अशोभनीय, अराजक र अवान्छित व्यवहार देखाउने छुट हामीलाई छैन : नेपाली काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भोलि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर भोलि प्रतिज्ञा पत्र सार्वजनिक गर्ने तय भएको प्रवक्ता देवराज चालिसेले बताए। उनले भने, ‘यसअघि घोषणा पत्र मात्र घोषणा पत्रको रूपमा मात्रै जारी भएको नेपाली जनताले महसुस गरे। लामा लामा सपनाहरू ठूल्ठूला कथाहरू जस्तो देखियो।

र जनताले ती घोषणा पत्रको बारेमा जुन चासो राख्नुपर्ने हो, त्यो समेत नभएको अवस्था विगतमा देखियो । यस पटक हामीले घोषणा होइन कि प्रतिज्ञा पत्र ल्याउँछौ । जो फरक छ ।’ प्रतिज्ञा पत्रमा गर्नसक्ने काम मात्रै उल्लेख हुने बताए। उनले थपे, हाम्रा सभापतिजीले भनिसक्नुभएको छ बेला मौकामा ती कति काम भए, त्यसको चेकलिष्ट नै लिएर आउने कुरा पनि उहाँले गर्नुभएको छ ।

यसको अतिरिक्त घोषणा पत्रमा हरेक वर्ष के हुने भन्ने कुरा पनि घोषणा गरिने छ । र विशेष गरी यस बारेमा सभापतिजीले भिडियो सन्देशमार्फत पनि सन्देश दिइरहनुभएको छ । भोलि त्यो डिटेलमा तपाईँहरूले पाउनुहुनेछ।’ निर्वाचन आयोगले तोकेको तालिका अनुसार फागुन ४ गतेदेखि कांग्रेस देशैभर चुनावी प्रचारप्रसारको औपचारिक कार्यक्रम लिएर जाने बताए।

आउने फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा विशाल आमसभा हुने समेत बताए। उनले भने, ‘कांग्रेसले हरेक निर्वाचनलाई आमजनतामा आफ्नो एजेन्डा लिएर जाने, व्यापक विमर्श गर्ने, जनताको भावनाबाट परीक्षित हुने र सहभावपूर्ण वातावरण बनाई लोकतान्त्रिक पर्यावरण उत्थान गर्ने अवसरका रूपमा उपयोग गर्दछ ।

यसै सिलसिलामा हामीले शृङ्खलाबद्ध रूपमा मिडिया डबली आयोजना गरेका छौँ । विभिन्न पेशाका अग्रणी, बुद्धिजीवीहरूसँग संवाद र सहकार्यमा छौँ । मूल गीत लगायतका सांस्कृतिक सामग्रीहरू तयारीको अवस्थामा छन् ।’

कांंग्रेस आमजनता, मतदातामाझ सभ्य, सुसंस्कृत र सन्तुलित शैलीलाई केन्द्रमा राख्ने बताए।उनले भने, ‘चरम प्रियतावादबाट वशिभूत भएर शान्तिप्रिय जनताको मन भाँड्ने कृत्य हामीबाट किन्चित कल्पित र सम्भव छैन । आमसञ्चार, विद्युतीय र डिजिटल सञ्चारका कुनै पनि प्लेटफर्ममा हाम्रो उपस्थिति तर्क, विवेक र सम्मानबाट निर्दिष्ट रहन्छ । यहाँहरूले यस पक्षलाई पहिचान गर्नु भएकै होला भन्ने हाम्रो अपेक्षा छ ।’

निर्वाचन आचारसंहितालाई निःशर्त र अविछिन्न रूपमा पालना गर्न नेपाली कांग्रेसको सकल परिवार प्रतिबद्ध रहेको बताए। उनले थपे, ‘यसलाई लिएर हाम्रा सबै साथीहरूमा अभिमुखीकरण भइसकेको छ । हामी आफ्नो व्यवहार र कार्यशैलीबाट उदाहरण बन्न चाहन्छौँ। निर्वाचन अघि–पछि सधैँ यही समाजमा जीवन निर्वाह गर्नुपर्ने हामीमाझ कुनै पनि किसिमका अशोभनीय, अराजक र अवान्छित व्यवहार देखाउने छुट कसैलाई दिएका छैनौँ।’